कोशी

कोशी अस्पतालमा डायलासिस सेवा र मृगौला प्रत्यारोपण सुरु हुने

इकागज |
चैत ३०, २०७९ बिहीबार १४:५८ बजे

विराटनगर- विराटनगरको कोशी अस्पतालमा मृगौला रोगीका लागि डायलासिस सेवाको सुधार गर्दै मृगौला प्रत्यारोपण सुरु गर्न समझदारी भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपालको करिब ७० प्रतिशत मानिस मृत्युको कारण मधुमेह, उच्च रक्तचाप, मृगौला रोगको साथै क्यान्सर जस्ता नसर्ने रोग र दुर्घटना भएकाले मृगौला रोगको उपचारका लागि सेवा विस्तार गर्न सम्झौता अघि बढेको हो ।


मृगौलाका बिरामीहरूमध्ये बर्सेनि करिब तीन हजार जनाको मृगौला फेल र एक हजार जनाको कलेजो फेल हुने समस्या रहेकामा मृगौला प्रत्यारोपण सेवा भने अति कम संख्यामा मात्रै उपलब्ध रहँदै आएको छ । डायलासिस सेवासमेत राम्रोसँग पाउन नसकेको अवस्थामा मृगौला फेल भएका बिरामीहरूको नयाँ मृगौला प्रत्यारोपण झन् कठिन भइरहेको भन्दै कोशी अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच मृगौला प्रत्यारोप सेवाको विस्तार र डायलासिस सेवा विस्तारका लागि समझदारी पत्रमा हस्ताक्षर भएको कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहले बताए ।

नेपालमा कलेजो र मृगौला प्रत्यारोपण सुरु भइसकेको अवस्थामा यसको विस्तार भने निकै सुस्त रहेको उनले जानकारी दिए । समझदारी पत्रमा मृगौला प्रत्यारोपण तथा डायलासिस सेवा विस्तार गर्न चार बुँदे कार्ययोजना समेत उल्लेख छ । सम्झौतापछि कोशी अस्पताल विराटनगरमा मृगौला प्रत्यारोपण कार्य सुरु गर्ने तथा त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पहल भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईले बताए ।

कोशी प्रदेश अन्तरगत विभिन्न अस्पतालहरूमा समेत डायलासिस सेवा विस्तार गर्न सहयोग गर्ने, सेवाहरू सुरु गर्नका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तरगत जनशक्तिको तालिम, फेलोसिप लगायत शैक्षिक कार्यक्रमको लागि व्यवस्था गर्ने सम्झौताको बुँदा २ र ३ मा उल्लेख छ । दुई पक्षीय सम्झौतामा मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन दुवै पक्षहरूबीच सहकार्य गर्ने पनि उल्लेख गरिएको छ ।


Author

थप समाचार
x