कोशी

धरान-इटहरीबीच सीमा विवाद : हर्क साम्पाङले राखेको बोर्ड एमालेनिकट युवा संघले उखेल्यो

बाबुराम भण्डारी |
बैशाख ११, २०८० सोमबार १४:४७ बजे

विराटनगर । इटहरी र धरान उपमहानगरपालिकाबीच सिमाना विवाद सुरु भएको छ । चारकोसे जंगलभित्रको सेउती खोलालाई दुई पालिकाबीचको सिमाना मानिंदै आएकोमा धरानका मेयर हर्क साम्पाङको निर्देशनमा इटहरीको तरहराभन्दा माथिको पानीपियाबाट धरान सुरु हुने बोर्ड राखिएपछि विवाद बढेको हो ।

आइतबार मेयर साम्पाङकै निर्देशनमा इटहरी उपमहानगरपालिका–२० पानीपियामा ‘धरान उपमहानगरपालिका सीमा प्रारम्भ’ लेखिएको बोर्ड राखिएको थियो । तर त्यसको २४ घण्टापनि बित्न नपाउँदै नेकपा एमाले निकट युवा संघका कार्यकर्ताहरूले सोमबार राती साढे १० बजे उक्त बोर्ड उखेलिदिएका छन् ।


युवा संघ सुनसरीका अध्यक्ष सुजन लामाको नेतृत्वमा गाडी र मोटरसाइकलमा गएको टोलीका युवाहरूले इटहरीको क्षेत्रमा धरानको बोर्ड राखिएको भन्दै हटाइदिएको भिडियो फेसबुकमा लाइभमार्फत सार्वजनिक गरेका थिए । 

‘धरान र इटहरीको भुगोल सीमाना सेउती खोला हो भन्ने सबैलाई थाहा भएको कुरा हो, पहिले सेउतीमै बोर्ड पनि थियो, नक्सा अनुसार पनि सेउती पारीमात्रै धरान पर्दछ’ लामाले भने, ‘इटहरीमा परेको ठाउँमा हर्क साम्पाङले जबरजस्ती राखेको हो, वहाँले पब्लिसिटी र स्टण्ट गर्नका लागि यस्तो गरेको देखिन्छ ।’

सीमानाका विषयमा इटहरी उपमहानगरपालिकासँग कुनै पनि समन्वय नगरी धरानका मेयर साम्पाङले जबरजस्ती बोर्ड राखेको दाबी गर्दै युवा संघले इटहरी उपमहानगरपालिकालाई समेत ध्यानाकर्षण गराउने तयारी गरेको लामाले बताए । 

यता धरानका मेयर साम्पाङले भने आधिकारिक सिमाना पानीपियासम्म नै भएको भन्दै बोर्ड उखल्ने जो कोहीमाथि कानुनी कारवाही गर्ने चेतावनी दिएका छन् । उनले सेउती खोलाभन्दा तलसम्म धरान पर्ने भए पनि विगतमा कुनै पनि मेयरहरूले त्यसका लागि अगुवाई गर्न नसकेको आरोप पनि लगाए ।

‘हाम्रो आधिकारिक सीमाना नै त्यहाँसम्म हो, बाटोको बायाँपटी हाम्रो पर्छ, दायाँपटि इटहरी पर्छ भन्ने हाम्रो जानकारी छ, मैले सुरक्षा निकायसँगै छलफल गरेको थिएँ’ मेयर साम्पाङले भने, ‘हामीले आकस्मिक रुपमा बोर्ड लगाएको हैन, कहाँसम्म हो भन्दा त्यहिं हो भन्ने देखिएपछि हिजो मेरो निर्देशनमा बोर्ड लगाउने काम गरेका थियौं ।’

उनले युवा संघ इटहरीले बोर्ड निकालेको आफुले पनि भिडियो देखेको बताउँदै आधिकारिक निकायसँग समन्वय नगरी त्यस्तो कार्य गरिएको भन्दै कारवाही गर्ने चेतावनी दिएका छन् । आफूले सीमानाका अरु पालिकाहरूको एक सुता पनि सीमाना नमिच्ने र आफ्नो पनि मिचिन नदिने बताए ।

‘हामीले त्यसै बोर्ड लगाएको होइन, सोधेर निकाल्नु पर्ने थियो, उनीहरू आधिकारिक व्यक्तिहरू पनि होइनन्, त्यसरी निकाल्नु दुःखद् छ’ साम्पाङले भने, ‘यसो भइरहँदा धरानको युवा संघले के भन्छ ? के बोल्छ भन्ने म पर्खिरहेको छु, आफ्नो साँध सिमाना सुनिश्चित गर्न म लागिरहेकै छु, पार्टीका संगठनहरूले त्यसो गरेर हुँदैन, कानुनी कारवाही हुन्छ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x