कोशी

कोशी प्रदेशकी पूर्वप्रदेश सभा सदस्य खातुन आत्मसमर्पण गर्दै

बाबुराम भण्डारी |
बैशाख १३, २०८० बुधबार २१:५० बजे

विराटनगर- कोशी प्रदेश सभाकी पूर्व सदस्य गुलेफुन खातुनले अदालतमा आत्मसमर्पण गर्ने तयारी गरेकी छन् । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी उनले बिहीबार उच्च अदालत विराटनगरमा उपस्थित भई आत्मसमर्पण गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

उनले बुधबार नै उच्च अदालतमा आत्मसमर्पण गर्ने तयारी गरे पनि परिवारका सबै सदस्यहरूसँग भेटघाट हुन बाँकी रहेको भन्दै पछि हटेकी थिइन् । खातुनले आफ्ना कानुन व्यवसायीहरूसँग पनि परामर्श गरेकी थिइन् ।


झापामा रहेका आफ्नो जेठो छोरालाई भेट्न बाँकी रहेकाले छोरालाई भेटेर मात्रै अदालतमा आत्मसमर्पण गर्ने निर्णयमा पुगेको निकट स्रोतले जनाएको छ ।

आत्मसमर्पण भएको अवस्थामा कैद सजाय तोकिएको पुर्जीसहित अदालतले प्रहरीलाई जिम्मा लगाउने र प्रहरीले फैसला कार्यान्वयनका लागि जिल्ला कारागार मोरङमा पठाउने व्यवस्था रहेको उच्च अदालत स्रोतले जनाएको छ ।

कटहरी गाउँपालिका (साविक कदमाहा गाविस–२) निवासी खातुनका विरुद्ध २०७३ असार २८ गते जिल्ला अदालत मोरङमा सरकारी कागज छाप दस्तखत किर्ते गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । खातुन विरुद्धको उक्त मुद्दामा जिल्ला अदालत मोरङले २०७४ वैशाख ३१ गते फैसला गरी कैद सजायसहितको कसुर ठहर गरेको थियो । 

जिल्लाको आदेशविरुद्ध सांसद खातुनले उच्च अदालत विराटनगरमा २०७४ माघ ३० गते पुनरावेदन गरेकी थिइन् । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको इजलासले जिल्ला अदालतकै निर्णयलाई सदर गर्दै २०७९ पुस ९ गते उनलाई एक वर्ष कैद सजाय हुने फैसला सदर गरेको थियो ।

किर्ते मुद्दामा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरबाट दोषी ठहर भएकी पूर्व प्रदेश सभा सदस्य खातुन पक्राउ पर्ने डरले फरार थिइन् । नेकपा एमालेकी तत्कालीन समानुपातिक प्रदेश सभा सदस्य खातुनले पक्राउ पर्ने भयले २०७९ असार १६ मा प्रदेश सभा सदस्यबाट समेत राजीनामा दिएकी थिइन् ।

उनले उच्च अदालत विराटनगरले गरेको फैसलाविरुद्ध चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा थप सुनुवाइका लागि निवेदन दिएकी थिइन् । सर्वोच्च अदालतको २०७९ जेठ २५ गतेको इजलासले उक्त मुद्दा दोहोर्‍याउने मागको निवेदन खारेज गरेको थियो ।

मुद्दा दोहोर्‍याउन सर्वोच्चले अनुमति नदिएपछि उनी फौजदारी कसुरमा पक्राउ पर्ने र प्रदेश सभा सदस्य पदबाट पनि पदमुक्त हुने निश्चित भएको भन्दै प्रदेश सभा सदस्यबाट राजीनामा दिएकी थिइन् ।

सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएपछि खातुनसहित उनका श्रीमान् शेख सिलावर मियाँ २५ दिनसम्म प्रहरी हिरासतमा बसिसकेका छन् । त्यति बेला उनी १० हजार धरौटीमा रिहा भएकी थिइन् । जिल्लाको फैसलाविरुद्ध उनी त्यसपछि उच्च अदालत विराटनगरमा पुगेकी थिइन् । उच्चले समेत जिल्लाकै फैसलालाई सदर गरेपछि उनी पुनः सर्वोच्च पुगेकी थिइन् ।

प्रदेश सभा सदस्यमा बहाल रहँदा खातुन प्रहरीलाई छल्दै प्रदेश सभा सचिवालयमा हाजिर गरेर निस्किने गरेकी थिइन् । उनले प्रदेश सभा सदस्यका रूपमा प्राप्त गर्ने सेवा सुविधा समेत बेलाबेलामा रोकिँदै आएको थियो । फौजदारी कसुरमा पर्ने  किर्ते जालसाझी मुद्दाकै कारण उनी प्रदेश सभाको पहिलो पाँच वर्षको अधिकांश बैठकमा अनुपस्थित भएर समय बिताएकी थिइन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x