कोशी

दिएको २१ लाख फिर्ता नपाएपछि घरनजिकै आत्मदाह

आत्महत्या दुरुत्साहनको आरोपमा दाजु बहिनी पक्राउ

बाबुराम भण्डारी |
बैशाख २०, २०८० बुधबार १०:४७ बजे

विराटनगर- आत्महत्या दुरुत्साहनको आरोपमा विराटनगरबाट दाजु बहिनी पक्राउ परेका छन् । हेटौंडामा बस्दै आएका विराटनगर महानगरपालिका–३ का गोविन्दप्रसाद नेपालले बैशाख १४ गते विराटनगर–४ तित्रिगाछीमा आफ्नै शरिरमा पेट्रोल खन्याएर आगो लगाएका थिए ।

शरिरको अधिकांश भाग जलेका ६५ वर्षीय नेपालको उपचारका क्रममा विराटनगर–२ स्थित रेडप्लस अस्पतालमा बैशाख १५ गते मृत्यु भएको थियो । मृतक नेपालका परिवारले भोलिपल्ट जिल्ला प्रहरी कार्यालय मोरङमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए । जाहेरी अनुसार मोरङ प्रहरीले विराटनगर–४ का ५५ वर्षीय गति पोखरेल र ३६ की सविना पोखरेललाई सोमबार पक्राउ गरेको हो ।


प्रहरीका अनुसार गति र सविना दाजु बहिनी हुन् । गतिलाई आफ्नै घर र सविनालाई झापाको कमल गाउँपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक नेपालसँग प्रत्यक्ष नाता सम्बन्ध नभएका पोखरेल दाजु बहिनीले २०७२ सालमा २१ लाख रुपैयाँ लिएर चलाएका थिए । उक्त रकम माग्दै नेपाल तित्रिगाछीस्थित पोखरेलको घरमा पटक–पटक पुग्ने गरेका थिए । 

‘पक्राउ परेका दुवै जना दाजुबहिनी हुन्, उनीहरूको मृतकसँग पारिवारिक सम्बन्ध भएको देखिएको छैन’ मोरङ प्रहरी प्रवक्ता दाहालले इकागजसँग भने, ‘२०७२ सालमा मृतकबाट पोखरेल दाजु बहिनीले २१ लाख रुपैयाँ लिएको खुलेको छ, त्यही पैसा पटक–पटक फिर्ता माग्दा नदिएपछि प्रगति भनिने गति पोखरेलको घर नजिकै घटना भएको देखिन्छ ।’

चैत १४ गतेका दिन पनि नेपालले पोखरेलको घरमा गएर आफुबाट लिएको रकम फिर्ता दिन आग्रह गरेका थिए । तर पोखरेल दाजु बहिनीले उक्त रकम दिन अनेकौं बहानाबाजी गर्दै नेपाललाई नै धाकधम्की दिँदै आएको बताइएको छ । आठ वर्षदेखि आफ्नो पैसा चलाएर फिर्ता नदिएको भन्दै नेपालले पोखरेलको घर नजिकै पुगेर शरिरमा पेट्रोल खन्याएर आगो लगाएको जनाइएको छ ।

पक्राउ परेका पोखरेल दाजु बहिनीलाई मोरङ जिल्ला अदालतबाट आत्महत्या गर्न दुरुत्साहनको मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए ।

शरिरमा आगो लगाएर मान्छे जलिरहेको देखेपछि स्थानीयले पानी हालेर नेपालको शरिरमा लागेको आगो निभाएका थिए । घटनास्थलमा पुगेको प्रहरीले उनले बोकेको झोलाभित्र रहेको नागरिकत लगायतका कागजातका आधारमा व्यक्ति पहिचान गरेको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x