कोशी

धरानका मेयरकाे विरोधमा पत्रकारकाे आन्दाेलन जारी, आज पूर्वमेयरहरूसँग अन्तर्किया गर्दै

इकागज |
जेठ २, २०८० मंगलबार ८:१० बजे

धरान- धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङको अभिव्यक्ति र अशोभनीय क्रियाकलापको खिलाफमा पत्रकारहरू मैदानमा उत्रेका छन् ।

मेयर साम्पाङले निरन्तर पत्रकारलाई अपमान गरेको तथा सार्वजनिक गरेको अभिव्यक्ति अशोभनीय भएको भन्दै आन्दाेलनमा उत्रेका नेपाल पत्रकार महासङ्घ सुनसरीले आज (मंगलबार) धरानका पूर्वमेयरहरूसँग अन्तर्किया गर्ने भएका छन् । साेमबार उनीहरूले मेयर साम्पाङकाे विरोध स्वरूप मौन जुलुस निकालेका थिए । 


प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी प्रमुख राईले पटक-पटक पत्रकारहरूलाई गालीगलौज तथा सञ्चार क्षेत्रमाथि आक्रमण प्रयास गरेको पछि बाध्य भएर विरोधमा मौन जुलुस प्रदर्शन गर्नु परेको अध्यक्ष जनकऋषि राईले जानकारी दिए । उनका अनुसार मेयर राईले आफ्नो अभिव्यक्ति नसच्याएसम्म तथा प्रेस स्वतन्त्रताप्रति लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी रहने छ  । 

राईका कारण सुनसरीका पत्रकारहरू असुरक्षित हुन पुगेको भन्दै सांकेतिक स्वरूप सोमबार नगरपालिकाको गेटमा पत्रकारहरूले मुख थुनेर विरोध जनाएका थिए । सो अघि भानु चोकबाट छाता चोक, चतराइन हुँदै धरान उपमहानगरपालिकाको गेटसम्म प्ले कार्ड प्रदर्शन गरिएको थियो ।

धरानका मेयर साम्पाङकाे अशाेभनीय क्रियाकलाप र अभिव्यक्तिका कारण गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् ।


Author

थप समाचार
x