कोशी

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्ले पदमुक्त

इकागज |
जेठ ३, २०८० बुधबार १८:२४ बजे

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले पदमुक्त भएका छन् । कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिव वाग्लेलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

वाग्लेले आफ्नो कर्तव्य निर्वाह नगरेको र गरेका कार्यमा सम्बन्धित सामाजिक विकासमन्त्रीसँग समन्वय नगरेको भन्दै पदमुक्त गर्ने निर्णय भएको कोशी प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले बताए ।


‘बोर्डका सदस्य सचिव वाग्लेले आफ्नो कर्तव्य निर्वाह नगरेको र सम्बन्धित सामाजिक विकासमन्त्रीज्यूसँग समन्वय नगरी कार्य गरेकोले किन त्यसो गरेको भनेर वहाँलाई दुई चोटी स्पष्टिकरण सोध्दा सन्तोषजनक जवाफ प्राप्त भएन’ सिटौलाले भने, ‘वहाँलाई त्यो पदबाट हटाउने मन्त्रालयको सिफारिस अनुसार आजको मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।’

वाग्लेले गत वैशाख १४ देखि १६ गतेसम्म झापाको दमकमा कोशी प्रदेश प्रदेश खेलकुद बोर्ड नै आयोजक रहेको प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेशको नाम उल्लेख नगरी प्रतियोगिता आयोजना गरेका थिए । 

त्यसपछि सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट उनलाई वैशाख १७ पहिलो सात दिने स्पष्टिकरण सोधिएको थियो । तर जवाफ चित्तबुझ्दो नआएको भन्दै मन्त्रालयले पुनः वैशाख २८ गते दोस्रो पटक तीन दिने स्पष्टिकरण सोधेको थियो । 

दोस्रो पटक पनि चित्तबुझ्दो जवाफ नदिएको भन्दै सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको मन्त्री स्तरीय निर्णयबाट उनलाई पदमुक्त गर्न मन्त्रिपरिषदमा सिफारिस भएको जनाइएको छ । मन्त्रालयकै निर्णयका आधारमा सदस्य सचिव वाग्लेलाई पदमुक्त गरिएको सरकारका प्रवक्ता सिटौलाले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादी ओखलढुंगाका अध्यक्ष समेत रहेका वाग्ले तत्कालीन मुख्यमन्त्री राजेन्द्र कुमार राई नेतृत्वको मन्त्रिपरिषदबाट प्रदेश खेलकुद ऐन २०७६ बमोजिम बोर्डको सदस्य सचिवमा नियुक्त भएका थिए ।

तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारको पालनामा बोर्डको सदस्य सचिवमा नियुक्त भएका पर्शुराम बस्नेतलाई हटाएर मुख्यमन्त्री राईले आफ्नै पार्टीका वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेका थिए । वाग्ले नेतृत्वको बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र सहभागिताका नाममा ट्रयाकसुट खरिद, मेडल, टेन्ट भाडा लगायतका अन्य खेल सामग्री खरिदका शीर्षकमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानबिन पनि जारी छ ।

२०७९ फागुन १५ गते परेको उजुरीका आधारमा अख्तियारले चैत २२ गतेदेखि बोर्डका नाममा ती सामग्री खरिदमा भएको भ्रष्टाचारउपर छानबिन अघि बढाइरहेको जनाएको छ । अख्तियारले वाग्लेसँग यसअघि नै उक्त अनियमितताको आरोप उपर आफ्नो राय प्रतिक्रियासहितका प्रमाणित कागजात माग गरेको थियो । उक्त उजुरीपछि अख्तियारले छानबिन सुरु गर्दा सदस्य सचिव वाग्ले लगायत बोर्डका पदाधिकारीहरुले गोप्य राख्ने प्रयास समेत गरेका थिए ।

वाग्ले उपर ४२०० थान ट्र्याकसुट, मेडल, प्रमाणपत्र छपाई, टेन्ट भाडा लगायतका विषयमा हिनामिना गरेको तथा खेलाडीलाई उपलब्ध गराइने दैनिक भ्रमण भत्तामा समेत कागज मिलाई हिनामिना गरेको उजुरीमा उल्लेख छ । त्यसैगरी सामान खरिद र ढुवानीमा अनियमितता, बन्द प्रशिक्षणमा खेलकुद सामान शीर्षकमा ७ लाख, औषधि शीर्षकमा ५ लाख र विविध शीर्षकमा ५ लाख रुपैयाँ बिल मिलाएर हिनामिना गरेको पनि आरोप छ ।

प्रतियोगिताको उद्घाटन समारोहका लागि मात्रै बोर्ड सदस्य शैलेस बिष्टले २० लाख खर्च देखाएको र उनले लिएको ४० लाख रुपैयाँ पेस्की पनि बिल मिलाएर हिनामिना गरेको भन्दै अख्तियारले जवाफ मागिसकेको छ ।


Author

थप समाचार
x