कोशी

एमाले कोशीका उपनेता रानामाथि आक्रमणको एमालेद्वारा विरोध

इकागज |
जेठ ३, २०८० बुधबार १९:८ बजे

विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका एमाले संसदीय दलका उपनेता राम राना मगरमाथि बुधबार आक्रमण भएको भन्दै एमालेले विरोध जनाएको छ । रानामाथि इलामको माङ्सेबुङ गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा सहभागी हुने जाने क्रममा आक्रमण भएको भन्दै एमाले केन्द्रीय सचिव गगन बिष्टले विज्ञप्तिमार्फत विरोध जनाएकाे हाे ।

आक्रमणमा संलग्न व्यक्तिहरुले राना चढेको बा २ झ ३७३७ नम्बरको स्कार्पियो समेत तोडफोड गरेका हुन् । एमालेले रानामाथि पहिचान पक्षधर समूहका व्यक्तिहरुको संलग्नता रहेको दाबी गरेको छ ।


‘माङ्सेबुङ गाउँपालिका–३ घर्तिदोभान नजिकै उहाँ चढेको गाडीमा ढुंगामुढा गरेको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘कोशी प्रदेशका विभिन्न जिल्लामा पहिचानका नाममा उच्छृङ्खल समूहले हिंसात्मक गतिविधि गरिरहेको र खास गरी एमालेका नेताहरुलाई निशाना बनाइरहेको घटनाले पार्टीलाई गम्भीर बनाएको छ ।’

एमालेले संवैधानिक व्यवस्था, ऐन र कानुनी प्रक्रियाबाट प्रदेश सभाले कोशी प्रदेश नामाकरण गर्ने निर्णय गरेको र असहमत समूहले विरोधमा कोशीमा हिंसात्मक गतिविधि सञ्चालन गरिरहे पनि सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्न ध्यान नदिएको एमालेको आरोप छ । सचिव बिष्टले घटनामा संलग्नहरुलाई तुरुन्त पक्राउ गरी कानुनी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूमि दिलाउन सरकारसँग माग पनि गरेका छन् ।

यसैबीच रानामाथि भएको आक्रमणप्रति एमाले कोशी प्रदेश संसदीय दलले समेत विरोध जनाएको छ । प्रमुख सचेतक रेवतिरमण भण्डारीले विज्ञप्ति जारी गर्दै रानामाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेको भन्दै विरोध जनाएको हो ।

भण्डारीले घटनालाई ‘मुलुकमा सबैले शान्तिपूर्ण र कानून सम्मत ढंगले आफ्ना बिचार व्यक्त गर्ने, नागरिकको स्वतन्त्रपूर्वक आवत जावत गर्न पाउने र सोही अनुसारको व्यवहार प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारको घोर उल्लंघन’ भनेका छन् ।

विज्ञप्तिमा कानुन हातमा लिने र हिंसात्मक गतिविधि गर्ने कार्यबाट समाज र देशलाई उचित ढंगले अघि बढाउन नसक्ने भन्दै रानामाथि गैरकानुनी हर्कत र उच्छृङ्खल गतिविधि प्रदर्शन गरी आक्रमण गर्ने व्यक्तिहरुलाई तत्काल कानूनको दायरामा ल्याएर कारवाही गर्न सरकारसँग माग गरिएको छ ।


Author

थप समाचार
x