कोशी

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डिल्लीराम उप्रेति

इकागज |
जेठ ५, २०८० शुक्रबार २०:२० बजे

विराटनगर- कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डिल्लीराम उप्रेतिलाई नियुक्त गरेको छ । शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उप्रेतिलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार पदको जिम्मेवारी समेत पुरा गरिसकेका ६० वर्षीय उप्रेति महेन्द्र रत्न क्याम्पस ताहाचलमा अर्थशास्त्र विषयका प्राध्यापक हुन् । उनी झापाको कन्काई नगरपालिका–८ शनिश्चरे निवासी रहेका छन् ।


आयोगलाई प्रदेशको समग्र समृद्धिका लागि दूरगामी सोच निर्माण गर्ने, दीर्घकालीन लक्ष्य, नीति तथा योजनाको तर्जुमा गर्ने, अनुगमन तथा मूल्यांकन, तहगत समन्वय, अध्ययन अनुसन्धान गर्ने लगायतका कार्यक्षेत्र रहेका छन् । प्रदेश योजना आयोग (गठन तथा कार्य संचालन) आदेश २०७५ को दफा (३) मा प्रदेश सरकारले एक जना उपाध्यक्ष, एक महिलासहित चार जना सदस्य नियुक्त गर्ने व्यवस्था रहेको छ ।

मन्त्रिपरिषद्ले आयोगको उपाध्यक्षमा प्राध्यापक उप्रेतिलाई नियुक्त गरे पनि सदस्यहरू भने नियुक्त भएका छैनन् । नेकपा माओवादी केन्द्र र राप्रपासहितको गठबन्धनको सरकार भएका कारण सदस्यहरूमा राजनीतिक भागबण्डा मिलाउन बाँकी रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रदेश मन्त्रिपरिषदले कोशी प्रदेश दलित अधिकार विधेयकको मस्यौदा तर्जुमाका सामाजिक विकास मन्त्रालयमार्फत सरोकारवालाहरूसँग छलफल अघि बढाउने निर्णय गरेको छ । साथै मस्यौदा तर्जुमाका लागि कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयसँग थप कानुनी परामर्श लिने समेत निर्णय गरेको जनाइएको छ ।

बैठकले कोशी प्रदेशमा विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूलाई पोसाक सुविधा प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।


Author

थप समाचार
x