कोशी

प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १० हजार नाघ्यो

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १०:५९ बजे

विराटनगर : बुधवारसम्म तीन अङकले वृद्धि भइरहेको कोभिड १९ संक्रमितको संख्या विहीवारदेखि चार अंकमा पगुेको छ । जसका कारण प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १० हजार नाघेको छ । प्रदेश समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा अहिलेसम्म कोभिडका सक्रिय संक्रमितको संख्या १० हजार ६ सय १४ पुगेको छ । प्रदेशमा बिहीबार मात्र १ हजार ३९ जना कोरोना संक्रमित थपिए । 

यो संख्या अहिलेसम्मकै उच्च हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ हजार ८५६ पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार ६२७ संक्रमणमुक्त भएका छन् । यो प्रदेशमा ६ सय १५ जनाको ज्यान कोभिडका कारणले गएको छ । 


प्रदेश १ मा पर्ने तराईका जिल्लामा संक्रमितको संख्या अत्यधिक छ भने पहाडी र हिमाली जिल्लाहरुमा समेत संक्रमित देखिएका छन् । तराईका मोरङ, सुनसरी, झापा लगाएतका जिल्लाहरुमा कोभिड संक्रमण व्यापक रुपमा देखिएको छ । संक्रमितको संख्या ग्रामीण क्षेत्रमा भन्दा बजार क्षेत्रमा धेरै छ ।

यी जिल्लामा कोभिड संक्रमितहरुको उपचार गरी रहेका सरकारी तथा निजि अस्पतालहरुका बेड बिरामीले भरिएका छन् । पहाडी जिल्लाहरु ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, इलाम, पाँचथर, तेह्रथुम, खोटाङ र ओखलढुंगामा समेत संक्रमितहरु थपिरहेका छन् । प्रदेश १ मा बैशाखको पहिलो सातावाट संक्रमण बढ्न थालेको हो । वैशाख १ गतेसम्म यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३० हजार ५१६ जना रहेको थियो । 
 


Author

थप समाचार
x