कोशी

कोशी प्रदेश विवाद : प्रदर्शनकारीले गरे आगजनी र तोडफोड नगर्ने प्रतिवद्धता

इकागज |
जेठ १६, २०८० मंगलबार १६:११ बजे

विराटनगर । कोशी प्रदेश नामाकरणपछिआन्दोलनरत पहिचान पक्षधर समूह र स्थानीय प्रशासनबीच बुधबार भएको वार्तामा आन्दोलनकारीहरुको तर्फबाट अब कुनै पनि किसिमको आगजनी र तोडफोड नगर्ने सहमति गरेका छन् ।  जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार भएको वार्तामा पक्राउपछि थुनामै रहेका २६ जना आन्दोलनकारीहरुलाई छाड्ने र उनीहरु छुटेपछि बुधबारदेखि घोषित आम हड्तालको कार्यक्रम पनि फिर्ता लिने सहमति गरेका हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवसहित पहिचान पक्षधर समूहबाट झण्डै एक दर्जन प्रतिनिधिहरुबीच वार्ता भएको थियो । 


आइतबार विराटनगरको देवकोटा चोकमा भएको प्रदर्शन र झडपका क्रममा नियन्त्रणमा लिइएका ८६ जनामध्ये २६ जना प्रहरी हिरासतमा रहेका छन् । वार्तापछि उनीहरुलाई छाड्ने तयारी स्थानीय प्रशासनले अघि बढाएको छ ।

पक्राउ परेका २६ प्रदर्शनकारीहरुलाई छाडेपछि आन्दोलनरत पक्षले पनि बुधबारदेखि घोषणा गरेको आम हड्ताल फिर्ता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
‘अब उप्रान्त कुनैपनि किसिमको आगजनी, तोडफोड, आवागमन अवरुद्ध र कार्यालय संचालन अवरुद्ध लगायतका शान्ति सुव्यवस्थामा असर पुर्‍याउने कार्यहरु नगरी कानुनसम्मत शान्तिपूर्ण रुपमा कार्यक्रमहरु संचालन गर्ने साथै जिल्लाको शान्ति सुरक्षा कायम राख सबैले सहयोग गर्ने र आन्दोलनको क्रममा पक्राउ परेका व्यक्तिहरु छुटे पछि आम हड्ताल फिर्ता लिने निर्णय गरियो ।’ वार्तापछि सार्वजनिक गरिएको निर्णयमा उल्लेख छ ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरुको साथबाट भाला, लाट्ठी, बाँसका भाटा, गुलेली, ढुंगा लगायतका वस्तु जफत गरेको थियो । शान्तिपूर्ण प्रदर्शन भनिएपनि आन्दोलनकारीहरु भित्रबाटै उत्तेजना फैलाएको आरोपको छ । 

आन्दोलनको झडपका क्रममा प्रदर्शनकारीहरुले पहिचानकै पक्षमा रहेको जसपाकी निर्मला लिम्बुले सम्हालेको स्वास्थ्य मन्त्रालयमा समेत तोडफोड हुँदा गाडीहरुमा ठूलो क्षति पुगेको जनाइएको छ । प्रदर्शनका क्रममा करिब ३० लाख रुपैयाँको सरकारी तथा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको प्रहरीले अनुमान गरेको छ । 

झडपका क्रममा प्रदर्शनकारीहरुको ढुंगामुडा र गुलेली प्रहारबाट ५४ जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइते हुनेहरु मध्ये ३८ जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरी छन् । उनीहरु मध्ये एक दर्जनको उपचार भइरहेको जनाइएको छ । आन्दोनकारीतर्फ १७ जना घाइते भएको प्रहरीको भनाई छ ।

आन्दोलनका क्रममा पक्राउ परेका मध्ये ६० जनालाई भने सोमबार बिहान करिब २ बजेतिर प्रहरीले छाडिदिएको थियो ।


Author

थप समाचार
x