गर्मीका कारण आजदेखि विराटनगरका विद्यालय दुई दिन बिदा
फाइल फोटो
विराटनगर - अत्याधिक गर्मीका कारण विराटनगर महानगरपालिकाले महानगरभित्रका सबै शैक्षिक संस्थाहरु आज बिहीबारदेखि दुई दिन बिदा दिने निर्णय गरेको छ ।
गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका शैक्षिक गतिविधि संचालन गर्न कठिनाई भएको भन्दै महानगरको शिक्षा समितिको निर्णय अनुसार दुई दिन विद्यालय बन्द गरिएको हो ।
गर्मीले गर्दा कतिपय विद्यालयमा बालबालिकाहरु बिरामी पर्न थालेको र थप विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले विद्यालय विदा दिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए ।
‘महानगर क्षेत्रभित्र संचालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको उनले जानकारी दिए ।
विराटनगर महानगरपालिकाभित्र संस्थागत १००, सामुदायिक ५६ र २२ वटा धार्मिक विद्यालय रहेका छन् । अधिकांश विद्यालयहरुको अहिलेपनि टिनकै छाना रहेका कारण कक्षाकोठाभित्र अध्ययन अध्यापन प्रभावित भएको महानगरका शिक्षा अधिकृत कृष्ण भट्टराईले बताए ।
बिदा दिइएपनि पूर्वनिर्धारित परीक्षाहरु भने यथावत रुपमा संचालन हुने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया