कोशी सरकारको मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम स्वीकृत
विराटनगर- बुधबार अपराह्न १ बजे बोलाइएको प्रदेश सभा बैठकमा कोशी प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रम पेस हुने भएको छ । प्रदेश सभामा पेस गर्नुअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
कोशी प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले मन्त्रिपरिषद् बैठकबाट सरकारको आर्थिक वर्ष २०८-८१ को वार्षिक नीति तथा कार्यक्रम मन्त्रिपरिषदमाथि छलफल सम्पन्न गरेर स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
उक्त नीति तथा कार्यक्रमलाई प्रदेश सभामा सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने समेत मन्त्रिपरिषद्ले निर्णय भएको उनले बताए ।
‘कोशी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ ३१ गते दिनको १ बजे कोशी प्रदेश सभामा सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुखलाई विधिवत् अनुरोध गर्ने निर्णय भएको छ,’ सिटौलाले भने, ‘सम्बोधनका लागि सबै खालको व्यवस्था मिलाउन प्रदेश सभालाई अनुरोध गर्ने पनि निर्णय भयो ।’
उनले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमा छलफल समेत हुने दाबी गरेका छन् । अल्पमतमा परेको सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने प्रतिपक्षी दलहरूले विज्ञप्तिमार्फत माग गरे पनि सरकार पक्ष भने बहुमतका लागि प्रदेश सभा 'फेस' गर्ने तयारीमा देखिएको छ ।
त्यसैको संकेत गर्दै मन्त्री सिटौलाले भने, ‘पहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्छौं, त्यसमा छलफल हुन्छ, सरकार अल्पमतमा परे नपरेको कुरा ‘फेस’ गरेपछि मात्रै थाहा हुन्छ ।’
उनले सरकार अल्पमतमा परेको नपरेको कुरा प्रमाणित नभईकन अहिले नै भन्न नसकिने दाबी गरे । नीति तथा कार्यक्रम ल्याउने कुरा अल्पमतमा परेकाे विषयसँग सम्बन्धित नभई संविधान अनुसार हुने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया