Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

कोशी

कोशी सरकारको नीति तथा कार्यक्रम आज

इकागज |
जेठ ३१, २०८० बुधबार ११:८ बजे

विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस हुने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख परशुराम खापुङले अपरान्ह १ बजे बोलाइएको प्रदेश सभा बैठकमा पेस गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रम र बजेट तयारीको मुखैमा सत्ता साझेदार दल जनता समाजवादी र नेकपा माओवादी सरकारबाट बाहिरिएपछि सरकारले निर्धारित समयभन्दा पछि नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।


दुई दलले सरकार छाड्दा कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार अहिले अल्पमतमा देखिन्छ । तर एमालेले भने अल्पमत परे पनि त्यसको परीक्षण प्रदेश सभामै हुने भन्दै सरकारको नीति तथा कार्यक्रम सहज रुपमा पेस हुने दाबी गरेको छ ।

असार १ गते बजेट समेत ल्याउनु पर्ने सरकारलाई कानुनी दायित्व छ । नीति तथा कार्यक्रम र बजेटको मुखमा सरकार ढाल्ने र टिकाउने खेल सुरु भएपछि बजेटको दुई दिन अगाडिमात्रै एमाले र राप्रपा नेतृत्वको ४६ सिटको सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो । 

मुख्यमन्त्री कार्कीले जेठ २४ बुधबार नै सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी अघि बढाएको बेला दुई मन्त्रीसहित सरकारमा रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । त्यसयता सत्ता पक्ष र प्रतिपक्षी दलहरु भने सत्ताकै जोडघटाउमा केन्द्रीत बनेका हुन् ।

मंगलबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम पारित भइसकेको छ । त्यसलाई बुधबार प्रदेश प्रमुख खापुङले मन्तव्यसहित प्रदेश सभामा पेस गर्ने तयारी भइरहेको जनाइएको छ । 

९३ सदस्यीय कोशी प्रदेश सभामा सरकार र प्रतिपक्षसँग समान ४६ सिट रहेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएका बाबुराम गौतम सभामुख बनेपछि नेपाली कांग्रेसको २९, माओवादीको १२, नेकपा एसको ४ र जसपा १ सिटसहित प्रतिपक्षी गठबन्धन कायम रहेको छ ।

सत्ता पक्षमा रहेको एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ सिट गरी उनीहरुसँग पनि ४६ सिट नै रहेको छ । आज नीति तथा कार्यक्रम पेस भएपछि प्रदेश सभा नियमावली (पहिलो संसोधन) २०७५ को नियम ३६ को उपनियम (२) मा प्रदेश प्रमुखबाट गरिएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्न सभामुखले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नेछ र सभामुखले उक्त प्रस्ताव प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनु अगावै निर्णयार्थ प्रस्तुत गर्नेछ’ भन्ने व्यवस्था छ ।

सभामुख गौतम माओवादीबाट प्रदेश सदस्य निर्वाचित र प्रदेश प्रमुख खापुङ जसपाका पूर्व नेता रहेका कारण सभामुखको पेस गरेको धन्यवाद प्रस्ताव विफल पार्न प्रतिपक्षी दललाई नैतिक संकट देखिएको छ । धन्यवाद प्रस्ताव पारित भएमा सत्ता गठबन्धनले प्रदेश सभाभित्र अझै पनि विश्वासको गुञ्जायस महसुस गर्ने अवस्था बनेको छ ।

नीति तथा कार्यक्रम पेस हुनुअघि अहिले ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी भइरहेको छ । त्यसले आजको बैठकको कार्यसूचीबारे निर्णय गर्ने जनाइएको छ ।


Author

थप समाचार
x