कोशी

कोशी प्रदेशमा बजेट नै नआई बजेट अधिवेशन अन्त्य, बिहीबार अध्यादेशबाट ल्याउने सरकारको तयारी

बाबुराम भण्डारी |
जेठ ३१, २०८० बुधबार २०:३७ बजे

विराटनगर - कोशी प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्ने सरकारले निर्णय गरेको छ । बुधबारमात्रै प्रदेश सभामा नीति तथा कार्यक्रम पेस गरेको सरकारले बजेट अधिवेशन अन्त्य गरेर भोलि बिहीबार नै अध्यादेशबाट बजेट ल्याउने तयारी अघि बढाएको हो ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आज राती १२ बजेदेखि चालू दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका हुन् ।


प्रदेशहरूले असार १ गतेभित्रै बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था रहेको छ । तर कोशी प्रदेशमा नीति तथा कार्यक्रम र बजेटको मुखमा सरकार ढाल्ने खेल सुरु हुँदा असार १ को एक दिन अगावै बिहीबार अध्यादेशमार्फत बजेट आउन लागेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार बिहीबार नै बजेट अध्यादेश आउने जनाइएको छ । 
प्रमुख प्रतिपक्षी दलहरुले अल्पमतमा परेको सरकारले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याए उक्त कार्य असंवैधानिक हुने जिकिर गर्दै आएका छन् । सरकार पक्षले भने संविधानकै व्यवस्था अनुसार बजेट आउने बताउँदै आएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबार प्रदेश सभामा पेश भएको सरकारको नीति तथा कार्यक्रम पास गर्न दलहरुले साथ नदिने आशंका बढेको भन्दै अर्को संवैधानिक बाटोबाट बजेट आउने प्रतिक्रिया दिएका थिए ।

‘नीति तथा कार्यक्रम पास नहुने आशंका भएको छ, असार १ भित्र बजेट नल्याए संबैधानिक संकट हुनसक्छ, अर्को बाटोबाट भएपनि बजेट आउँछ’ उनले बुधबार नीति तथा कार्यक्रम पेश भएपछि भनेका थिए,– ‘हामीले ३० दिनभित्र विश्वासको मत लिन नसके अर्को सरकारले बजेट हेरफेर गर्न सक्ने कानुनी व्यवस्था छन् पनि भनेका थियौं, तर रोष्टमबाट त्यस्तो आवाज आएन, आजै विश्वासको मत लिनु भनेपछि बजेट ल्याउनैपर्ने अवस्था बन्यो ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x