कोशी

पूर्णपाठ

कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड

बाबुराम भण्डारी |
जेठ ३२, २०८० बिहीबार १८:१८:५ बजे

विराटनगर- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको वार्षिक अनुमानको बजेट वक्तव्य सार्वजनिक गरेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँको बजेट अनुमान प्रस्तुत गरेका हुन् ।


मुख्यमन्त्री कार्कीले अध्यादेशमार्फट ल्याएको वार्षिक बजेट अनुमान मन्त्रालयको सभाहलमा प्रस्तुत गरेका हुन् । 

जस अन्तरगत उल्लेखित बजेट अनुमानको खर्च बेहाेर्ने स्रोत मध्ये प्रदेश सरकारको आन्तरिक राजश्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदान ७३ करोड, विशेष अनुदान ७६ करोड रुपैयाँ गरी राजश्व र वित्तीय हस्तान्तरणतर्फबाट जम्मा ३२ अर्ब ३४ करोड  २९ लाख ५० हजार खर्च बेहाेरिने जनाइएको छ । बाँकी रकम नगद मौज्दातबाट ३ अर्ब ७५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रुपैयाँ बेहाेरिने बजेट वक्तव्यमा उल्लेख छ ।

सरकारले कृषि क्षेत्रमा २ अर्ब ७ करोड, कोशी प्रदेशको समग्र औद्योगिक विकासका लागि ४३ करोड २३ लाख, प्रदेशका निर्माणाधीन लोकमार्गहरूको निर्माण सम्पन्न गर्न ४ अर्ब, समग्र सहरी विकासका लागि ११ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी वृहत् विराट क्षेत्रको विकास गुरुयोजनाका लागि ५ करोड, जनता आवास योजनामा १५ करोड, समग्र ऊर्जा क्षेत्रका लागि १२ करोड ५० लाख, धरान खानेपानी आयोजनाको इनार निर्माणमा ५ करोड, नमुना विद्यालयका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको मुख्यमन्त्री कार्कीले बजेट वक्तव्यमार्फत जानकारी दिए । उनले वन तथा वातावरण क्षेत्रका लागि १ अर्ब ८१ करोड विनियोजन भएको बताए । 

मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको बजेट समीक्षा प्रस्तुत गर्दै प्रदेशको पुँजीगत खर्च क्षमतामा अपेक्षित सुधार हुन नसकेको बताएका छन् । त्यसैगरी विभिन्न आयोजनाहरूमा भुक्तानी दायित्वको समस्या पनि कायमै रहेको बताएका छन् । 

प्रदेशमा बेरुजु रकम बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । चालु बजेटमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान रहेको पनि बताए । 

विश्व अर्थतन्त्रमा देखिएको शिथिलता एवं मुलुकको आर्थिक गतिविधिमा आएको सुस्तताको प्रभाव कोशी प्रदेशमा पनि परेको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर तुलनात्मक रुपमा घट्ने भन्दै आधारभूत मूल्यमा २.४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान रहेको जानकारी दिए । त्यसैगरी कूल गार्हस्थ उत्पादन ८ खर्ब ५० अर्ब रहने अनुमान सुनाए ।

चालु आर्थिक वर्षको कूल विनियोजित बजेट ३९ अर्ब ७३ करोड ८३ लाख मध्ये वैशाख मसान्तसम्म संघीय सशर्त अनुदानमा ११ करोड ३५ लाख थप भई कूल बजेट ३९ अर्ब ८५ करोड १८ लाख रुपैयाँ कायम भएको जनाइएको छ । उक्त बजेटबाट संघीय सरकारलाई सशर्त अनुदानतर्फ २ अर्ब १६ करोड फिर्ता भएकोले अन्तिम बजेट ३७ अर्ब ६९ करोड १८ लाख कायम भएको जनाइएको छ ।
मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कायम विनियोजनको ४८ प्रतिशत खर्च भईसकेको बताए । ​

चालु वर्षकै वैशाख मसान्तसम्म स्थानीय तहलाई २ अर्ब ७८ करोड २३ लाख वित्तीय हस्तान्तरण हुँदा  २७ अर्ब ८२ करोड ३३ लाख प्राप्ति भएको जनाइएको छ । त्यस्तै चालु आर्थिक वर्षको अन्त्यसम्ममा करिब ३३ अर्ब ७ करोड रुपैयाँ प्राप्त हुने संशोधित अनुमान बजेट वक्तव्यमार्फत प्रस्तुत गरिएको छ ।

 

 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x