कोशी

बाढी पहिरो प्रभावित कोशीका पहाडी जिल्लामा आठ जनाको मृत्यु

सेनाका हेलिकप्टरबाट घाइते र प्रभावितहरुको उद्दार जारी

बाबुराम भण्डारी |
असार ४, २०८० सोमबार १३:१२ बजे

विराटनगर- शुक्रबारदेखि परेको अबिरल बर्षापछिको बाढी र पहिरोका कारण सोमबार बिहानसम्म कोशी प्रदेशका पहाडी जिल्लामा ८ जनाको मृत्यू भइसकेको छ । २८ जना बढि अझै बेपत्ता छन् ।

पहिरोले पुरिएर सवैभन्दा बढि पाँचजनाको मृत्यु भएको छ । ताप्लेजुङमा ३, पाँचथर ३, भोजपुर र संखुवासभामा १–१ जनाको मृत्यु भएको प्रहरीले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।


मृत्यु हुनेहरूमा ताप्लेजुङको फिदिङ्वा–६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशरबहादुर राई र उनका छोरा ३६ वर्षीय सुरेश राई, पाँचथरको फालेलुङ–४ का ८ वर्षीया वालिका जुना सावदेन, फिदिम–११ का २८ वर्षीय सञ्जोग लिम्बू र पाँचथरकै २५ वर्षीया एलिसा माझीको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यसैगरी भोजपुरको ट्याम्केमैयुम गाउँपालिका–८ का ३२ वर्षीय मन्दीप राई र संखुवासभाको पाँचखपनका–९ का २६ वर्षीय सन्तोष राईको समेत मृत्यु भएको जनाइएको छ ।

यसैबीच बाढी प्रभावित कोशी प्रदेशका पहाडी जिल्लाहरुमा उद्दारको काम सोमबार विहानैदेखि तिब्रता दिइएको छ । बाढी पहिरोले प्रभावित भएर अलपत्र परेकाहरुको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार सुरु गरिएको हो । प्रभावित क्षेत्रमा उद्दार गर्न कोशी प्रदेश सरकारको समन्वयमा इटहरीबाट नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उपसचिव अर्जुन निरौलाले जानकारी दिए ।

पाँचथरको याङ्बरक गाउँपालिकाको फेदीमा अलपत्र परेका १२ जनालाई सेनाको हेलिकप्टरले उद्दार गरिसकेको छ । उनीहरुलाई च्याङथापुमा सुरक्षित स्थानमा पुर्याइएको जनाइएको छ ।
अहिले सेनाको हेलिकप्टर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मुकुभञ्ज्याङमा पहिरोले पुरिएर स्थानीयले उद्दार गरिएका ४५ वर्षीय राजकुमार राईलाई लिन पुगेको छ । 

त्यहाँ गएराति पहिरोले पुरिएर ६५ वर्षीय केशरबहादुर राई र उनका छोरा ३१ वर्षिय सुरेश राईको ज्यान गएको थियो । सोही पहिरोमा परी राजकुमार गम्भीर घाइते भएका थिए । मौसम खुलेका कारण हेलिकप्टर त्यहाँ पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

यसैबीच ताप्लेजुङको सिरिजङ्घा–७ सुरुमखिमस्थित तावा खोलाको बाढीले घरगोठ बगाइएपछि त्यहाँबाट विस्थापित भएर ओढार बसिरहेका डेनिस गुरुङको परिवारको भने उद्दार हुन सकेको छैन । उनीहरु तावाले घर बगाएपछि नजिकैको अर्को खोल्सा तरेर भागेका थिए । 

डेनिस उनकी पत्नी अनिता राई र नाबालिका छोरीसँगै ओडारमा बसिरहेको जनाइएको छ । प्रतिकुल मौसमका कारण उनीहरुको उद्दार हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तीन दिनयताको बाढी पहिरोले कोशी प्रदेशको भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम र ओखलढुंगा जिल्लाका विभिन्न स्थानमा ज्यान गुमाउनेको संख्या बढ्दो छ । 

ताप्लेजुङ, पाँचथर र संखुवासभामा एक दर्जन बढि पुलहरु खोलाले बगाएको छ । तमोर करिडोरका काबेली, पिलुवा, हेवा, सभा खोला बेसिनमा बनेका १३ वटा हाइड्रोपावर र साना जलविद्युत आयोजनाहरुमा अर्बौंको क्षति पुगेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ । सोमबारदेखि बल्ल उद्दारको काम सुरु हुँदा प्रभावित क्षेत्रमा राहत र क्षतिको विवरण संकलन कार्य अघि बढ्न अझै समय लाग्ने देखिन्छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x