कोशी

दोस्रो वार्ता गर्ने सहमतिसहित पहिचानवादी र कोशी सरकारबीचको पहिलो वार्ता सकारात्मक

बाबुराम भण्डारी |
असार ४, २०८० सोमबार १८:४५ बजे

विराटनगर- प्रदेशको नामकरणको असन्तुष्टिले आन्दोलनरत पहिचानवादी समूह र कोशी प्रदेश सरकारबीचको पहिलो चरणको वार्ता सकिएको छ । सरकारी वार्ता टोली र पहिचान पक्षधरबीच विराटनगरको बिग होटलमा सोमबार पाँच घण्टासम्म वार्ता भएको हो ।

सरकारसँग वार्ता भएकै विग होटलमा २०७९ चैत १४ को प्रदर्शनमा पहिचान पक्षधरहरूले तोडफोड गरेका थिए । प्रदेश सभाका सदस्यहरूका लागि त्यस दिन युएनडिपी नेपालको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रम सोही होटलमा राखिएको बेला पहिचान पक्षधर प्रदर्शनकारीहरूले होटलको बाहिर गेटमा रहेको क्याफेमा तोडफोड गरेका थिए । तोडफोडका कारण करिब सात लाख रूपैयाँ बराबरको क्षति भएको होटल प्रशासनले जनाएको थियो । आफैँले तोडफोड गरेको होटलको सुविधा सम्पन्न सभाहलमा बसेर पहिचान पक्षधरहरूले सरकारसँग वार्ता गरेका हुन् ।


कोशी प्रदेश सरकारले बनाएको वार्ता टोली र प्रदेश नम्बर १ पुनःनामकरण संघर्ष समितिले बनाएको वार्ता टोली बीचको पहिलो वार्ता भने सौहार्दपूर्ण रूपमा सकिएको जनाइएको छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा बनेको सरकारी वार्ता समितिमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला सदस्य रहेका छन् । पहिचान पक्षधरहरूका तर्फबाट युवराज राई, रामभक्त कुरुम्बाङ, गोविन्द आङ्बुङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक, कुमार लिङ्देन र पदम जवेगु सहभागी बनेका थिए । पहिचान पक्षधरले  सरकार वार्ताका लागि तयार देखिएकाले त्यसलाई आफूहरूले सकारात्मक रूपमा लिएको भन्दै आइतबार विराटनगरमा बसेको बैठकबाट प्रदेश सरकारसँग वार्ता गर्न उक्त टोली घोषणा गरेका थिए ।

सोमबार भएको पहिलो वार्तामा पहिचान पक्षधरहरूले आफ्ना मागहरू उठान गरेको सरकारी वार्ता टोलीका संयोजक एवं कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बोले बताए । उनले दुवै पक्षबीचको वार्ता अत्यन्तै सकारात्मक भएको र एकले अर्कोको कुरा सहजताका साथ सुन्ने धैर्यता प्रदर्शन भएको जानकारी दिए ।

‘वार्तामा आन्दोलनका विषय र मागहरूबारे वहाँहरूले कुरा उठान गर्नु भएको छ, हामीले पनि वातावरण तयार पार्नका लागि खेल्नुपर्ने भूमिकाबारे सरकारको तर्फबाट भन्नुपर्ने कुरा भनेका छौं,’ उनले भने, ‘पहिलो चरणमै सबै कुरा सकारात्मक तरिकाले छलफल हुन सकेको छ, समस्याहरू हल गर्दै अगाडि बढ्ने र फेरि घनीभूत छलफल हुने गरी पुनः वार्तामा बस्ने सहमति भएको छ ।’

वार्ता सकिएपछि सरकारका तर्फबाट संयोजक मेन्याङ्बो र पहिचान पक्षधर वार्ता समितिका तर्फबाट रामभक्त कुरुङ्वाले वार्ताका बारेमा संचारकर्मीहरूलाई सामूहिक जानकारी गराएका थिए । कुरुङ्वाले सरकारसँग औपचारिक रूपमा वार्ता सुरु हुनु सकारात्मक भएको बताए ।

'हामीले कोशी नाम खारेज हुनुपर्छ भन्ने एउटै मात्रै विषयवस्तु प्रस्तुत गरेका थियौं, वहाँहरूले सरकारले गठन गरेको वार्ता टोलीले नाम खारेज गर्ने विषय हुँदैन, प्रदेश सभासँग जोडिने विषय हो भन्नुभयो,’ उनले भने, ‘हामीले उठाएको मागका विषयमा औपचारिक ढंगले राख्ने काम भएको छ, फेरि यसलाई निरन्तरता दिइने छ ।’

प्रदेशसभाको २०७९ फागुन १७ गतेको बैठकले कोशी नाम पारित गरेको थियो । त्यसमा असन्तुष्टि जनाउँदै नाममा पहिचान जोडिनुपर्ने भन्दै किराँत र लिम्बुवान सम्बद्ध पहिचान पक्षधरहरूले आन्दोलन चर्काउँदै आएका छन् । विराटनगर केन्द्रित आन्दोलन चर्किँदा दर्जनौं प्रदर्शनकारी र प्रहरीहरू घाइते भइसकेका छन् ।

विराटनगरमा आन्दोलनमै सहभागी भएका पदम लिम्बु (लाजेहाङ) को पाँच दिनपछि चैत १० गते धरानमा मृत्यु हुँदा उनीहरूले कोशी प्रदेशमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेप्रति आक्रामक व्यवहार देखाउँदै एमालेका प्रदेश सभा सदस्यहरूलाई दुर्व्यवहार र आक्रमण समेत गरेका थिए ।

लिम्बुको मृत्युपछि संघीय सरकारले बनाएको छानबिन टोलीले प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइसकेको छ । तर, लिम्बुको मृत्यु सुरक्षाकर्मीको दमनकै कारण हो वा अरू नै कारण हो भन्ने वास्तविक सत्यतथ्य उल्लेख गरिएको छानबिन समितिको उक्त प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । आन्दोलन मत्थर पार्ने बहानामा सरकारले उनलाई सहिद घोषणा भने गरिसकेको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x