कोशी

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक

बाढीपहिरोबाट मृतकका परिवारलाई एक लाख र घाइतेकाे उपचारमा ५० हजार दिने निर्णय

इकागज |
असार ४, २०८० सोमबार २१:१९ बजे

विराटनगर- कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट मृत्यु भ​एकाहरूका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोशीका पहाडी जिल्लामा आएको बाढीपहिराेबाट ​मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने र घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।


प्रदेश सरकारको विपतबाट भएको क्षतिको खोज, उद्धार तथा राहत वितरण सम्बन्धी मापदण्ड २०७६ को नियम (४) को विद्यमान व्यवस्थालाई मन्त्रिपरिषद्ले संशोधन गरी प्रतिमृतक र घाइतेका परिवारलाई राहत दिने निर्णय गरेको हो । उक्त नियममा यसअघि ‘प्रदेशभित्र प्रकोपका घटनामा परी कुनै व्यक्तिको मृत्यु भएको रहेछ भने नेपाल सरकारले उपलब्ध गराउने राहत सहयोगका अतिरिक्त प्रदेश सरकारको तर्फबाट प्रतिपरिवार एक लाख रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराउने’ व्यवस्था थियो । मन्त्रिपरिषद् बैठकले उक्त मापदण्डलाई संशोधन गरी प्रतिपरिवारको सट्टा प्रतिमृतक व्यक्ति एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको मन्त्री सिटौलाले बताए ।

‘बाढीपहिरोले पहाडी क्षेत्रमा ठूलो धनजनको क्षति भएको जानकारीहरू प्राप्त भइरहेका छन्, सरकारले उद्धारलाई पहिलो प्राथमिकतामा राखेर हेलिकप्टर समेतको प्रयोग गरिरहेको छ, मानवीयका साथै पूर्वाधारमा पनि ठूलो क्षति भएको छ,’ मन्त्री सिटौलाले भने, ‘सरकारले बाढीपहिरोमा परेर मृत्यु भएका प्रतिमृतकका परिवारलाई एक लाख रुपैयाँ राहत स्वरूप दिने र घाइतेहरूको उपचारका लागि प्रतिव्यक्ति ५० हजारका दरले उपचार खर्च दिने निर्णय गरेको छ ।’

पहाडी जिल्लाहरूमा अचानकको वर्षा र त्यसपछिको आकस्मिक बाढीपहिरोले १५ वटा पुल, १७ स्थानमा सडक अवरोध, ५४ परिवार विस्थापित, ३२ वटा घर पूर्ण रूपमा र २२ वटामा आंशिक क्षति पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।

बाढीपहिरोले घरगोठ बगाउँदा ७४ वटा पशुचौपाया र ८४ वटा पशुपन्क्षी मरेको विवरण संकलन भएको छ । संखुवासभामा मात्रै करिब ४० रोपनी बालीसहितको खेतबारी बाढी र पहिरोले पुरेको जनाइएको छ ।


Author

थप समाचार
x