कोशी

काेशी बाढी पहिरो : उद्दारमा कठिनाई, घाइतेलाई दुई दिनमा ल्याइयो विराटनगर

बाबुराम भण्डारी |
असार ५, २०८० मंगलबार १०:५१ बजे

विराटनगर । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मुकुभञ्ज्याङमा सोमबार राति खसेको पहिरोले पुरिएर गम्भीर घाइते भएका ४५ वर्षीय राजकुमार राईलाई उपचारका लागि विराटनगर ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट दुई दिन लगाएर उनलाई मंगलबार बिहान विराटनगर ल्याइएको हो । घाइते राईको विराटनगरको न्यूरो हस्पिटलमा उपचार सुरु भएको छ । 

सोमबार दिउँसो उनलाई लिन गएको हेलिकप्टर खराब मौसमका कारण विराटनगर फर्किन सकेको थिएन । मेहेलेबाट घाइते राईलाई लिएर उडेको नेपाली सेनाको हेलिकप्टर पाँचथरको पिनासे घाटस्थित काबेली हाइड्रोपावरको कार्यालय नजिकै आकस्मिक अवतरण गराइएको थियो । 


घाइतेको सोही स्थानमा रहेको गोपेटार स्वास्थ्य चौकीमा सामान्य उपचार गरी मंगलबार बिहान हेलिकप्टरबाट विराटनगर ल्याइएको जनाइएको छ ।

सोमबार राति पहिरोले पुरिएर सिदिङ्वा गाउँपालिका–६ मुकुभञ्ज्याङकै ६५ वर्षीय केशरबहादुर राई र उनका छोरा ३१ वर्षीय सुरेश राईको ज्यान गएको छ । सोही पहिरोमा परी राजकुमार गम्भीर घाइते भएका थिए । सिदिङ्वा–६ मेहेलेका ३० वर्षीय गणेश तामाङको पनि पहिरोले बगाएर मृत्यु भइसकेको छ ।

सिदिङ्वा–६ मेहेले र सिरिजङ्घा–७ सुरुमखिमको सिमावर्ती गाउँका अधिकांश घरहरु पहिरोको जोखिममा रहेको स्थानीयले बताएका छन् । त्यहाँ पहिरोले स्वास्थ्य चौकी समेत बगाइसकेको छ ।

सिरिजङ्घा–७ सुरुमखिमस्थित तावा खोलाको वरिपरीबाट आएको बाढीका कारण घरगोठ बगाएपछि शनिबारदेखि भागेका डेनिस गुरुङको तीन जनाको परिवार अझै ओडारमै बसिरहेको जनाइएको छ । मंगलबार विहानसम्म उनीहरुको उद्दार हुन सकेको छैन । 

डेनिस उनकी पत्नी अनिता राई र नाबालिका छोरीसँगै ओडारमा बसिरहेको र प्रतिकुल मौसमका कारण उनीहरुको उद्दार हुन नसकेको सिरिजङ्घा–७ का वडाध्यक्ष बुद्धिप्रसाद दाहालले जानकारी दिए । उनले अर्को गाउँबाट हेर्दा धुँवा आइरहेको देखिएकोले उनीहरु आगो बालेर ओडारभित्र बसिरहेको हुनसक्ने उनले बताए । उच्च हिमाली क्षेत्र भएकोले त्यस क्षेत्रमा नियमित पानी परिरहेकोले उद्दारमा कठिनाई भएको वडाध्यक्ष दाहालले बताए ।

‘हिमाली क्षेत्रमा पानी परेको पर्‍यै छ, यो क्षेत्रमा चार दिनदेखि पानी रोकिएको छैन, त्यो क्षेत्रमा ११ वटा घर पहिरोले बगाइसकेको छ, गुरुङको परिवार बसेको ठाउँसम्म पुग्न सकिएको छैन’ दाहालले भने, ‘वारीबाट हेर्दा जंगलमा धुवाँ देखिएकोले उनीहरु ज्यूँदै छन् भन्ने अनुमान गरेका छौं ।’

त्यस क्षेत्रमा सञ्चालन भइरहेको ७५ किलोवाटको सिवा खोला लघु जलविद्युत आयोजनाको मुहान समेत पुरिएका कारण विद्युत सेवा बन्द भएको उनले बताए । खोलाभन्दा २५ मिटरमाथि रहेको लघु जलविद्युत आयोजनाको पावर हाउस अहिले सिवा खोलाको सतहबाट करिब एक मिटरमात्रै माथि रहेको जानकारी दिए । उक्त लघु जलविद्युत आयोजनाले करिब ६ सय घरधुरीलाई विद्युत सेवा प्रदान गर्दै आएको थियो ।

विद्युत नहुँदा मोबाइल चार्ज गर्न समेत कठिनाई भइरहेकोले प्रभावित क्षेत्रमा सम्पर्क टुट्न थालेको उनले बताए ।

बाढी पहिरोबाट अहिलेसम्म सिरिजङ्घा–७ मा मात्रै १९ परिवार विस्थापित भएको जनाइएको छ । उनीहरुलाई नजिकैको अर्को डाँडामा त्रिपालको व्यवस्था गरेर राखिएको जानकारी दिए । 

तीन दिनयताको बाढी पहिरोले कोशी प्रदेशको भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम र ओखलढुंगा जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको स्थिति यकिन हुन सकेको छैन । अझैपनि २७ जना बढि व्यक्तिहरु बेपत्ता रहेका छन् । उनीहरुको खोजी कार्य अघि बढ्न सकेको छैन । 

बाढी पहिरोका कारण मंगलबार विहानसम्म कोशी प्रदेशका पहाडी तीन जिल्लामा मात्रै ९ जनाको मृत्यु भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।

हेवा खोलामा अचानक आएको बाढी बगाएर सुतेकै ठाउँबाट बेपत्ता भएका संखुवासभास्थित हेवा खोला हाइड्रोपावर कम्पनीमा कार्यरत कर्मचारी र मजदुरको अवस्था अझैसम्म अज्ञात छ । 

बाढी पहिरोले १५ वटा पुल बगाएको छ । मेची राजमार्गसहितका १७ स्थानमा सडक अवरोध हट्न सकेको छैन । ३२ वटा घर पूर्ण रुपमा क्षति भएको र २२ वटामा आंशिक क्षति पुगेको प्रारम्भिक विवरण मन्त्रालयसम्म आइपुगेको छ । 

नेपाली सेनाको हेलिकप्टरले सोमबार पाँचथरको याङ्वरक गाउँपालिकाको फेदीमा अलपत्र परेका १० जनाको उद्दार गरेको थियो । उनीहरुलाई च्याङ्थापुमा सुरक्षित स्थानमा रहेको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x