कोशी

कोशी नदीमा बहाव बढ्दा पश्चिमतर्फ कटान सुरु

उदयपुरको बेलकाका पाँच वडाहरू डुबानको जोखिममा

बाबुराम भण्डारी |
असार ५, २०८० मंगलबार २०:२८ बजे

विराटनगर- पूर्वी पहाडी क्षेत्रमा निरन्तरको भारी वर्षापछि सहायक नदीहरूमा बाढी आउँदा कोशी नदीले उदयपुरतर्फ बेलका नगरपालिका–८ डुम्रिबोटेमा कटान सुरु गरेको छ । पहाडी क्षेत्रमा खुम्चिएर बगेको सप्तकोशी नदी डुम्रिबोटेबाट फाँटमा फैलिन सुरु हुन्छ ।

अहिले कटान गरिरहेको स्थानभन्दा पाँच सय मिटर तलबाट अघिल्लो वर्ष कोशी नदी पश्चिमतर्फ पसेको थियो । नदी किनारको अस्थायी बाँध कटान गरेर पश्चिमतर्फ कोशी पस्दा बेलका नगरपालिकाको वडा नं. ८, ९, ३, २ र १ का एक दर्जन गाउँहरू डुबान भएका थिए ।


गत वर्ष साउन १८ गते बिहान करिब ४ बजे कोशी नदीले पश्चिम बाँध कटान गरी बेलका नगरपालिकातर्फ पसेको थियो । बस्तीमा कोशी पस्दा करिब एक हजार पाँच सय परिवार विस्थापित भएका थिए ।

डिल कटान गरेर बस्तीतर्फ पसेको स्थानमा भने अहिले ढुंगा लगाएर बाँध निर्माण भइसकेको छ । तर अहिले त्यहाँभन्दा पाँच सय मिटर माथिबाटै कोशीले फेरी पश्चिमतर्फ कटान सुरु गरेको जनाइएको छ । 

पहिलो वर्षामै कोशी नदीले पश्चिमतर्फ सोझिएर कटान सुरु गरेपछि बेलका नगरपालिकाका आधा दर्जन वडाका बस्तीमा झन ठूलो चिन्ता बढाएको छ । तीव्र गतिमा कटान गरिरहेको बेलका नगरपालिका–९ का वडाध्यक्ष पदमबहादुर कटुवालले बताए । कटान बढ्दै गए झन होचो भागतिर पुग्ने भएकोले गत वर्षको भन्दा ठूलो जोखिम रहेको उनले सुनाए ।

‘कोशीले पोहोर साल कटान गरेको ठाउँमा बाँध बाँधेर नियन्त्रण भएको छ, तर अहिले दुई दिनयताको बाढीले फेरी अलिकति माथिबाट कटान सुरु गरेको छ,’ उनले भने, ‘पश्चिमतर्फ पानीको बेग बढेको छ, २० मिटर जति कटान गरिसकेको छ ।’

कोशीले गत वर्षझैं धार परिवर्तन गरेर पश्चिमतर्फ प्रवेश गरेको खण्डमा बेलका–८ को डुम्रिबोटे, वडा नं. ९ को सिमलटार र धौरी, वडा नं. ३ को दुर्गामन्दिर, भाटेपुल, एबिसी टप्पु, बुधबारे र मिलनचोक क्षेत्र डुबानबाट प्रभावित हुनेछन् ।

त्यसैगरी वडा नं. २ को रामनगर, लालभित्ती, बानडाँडा र चन्द्रपुर र वडा नं. १ को पुरन्दह बजार नै डुबानको जोखिममा पर्ने जनाइएको छ । 

उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कोशीले कटान गरेको जानकारी आएकोले बुधबार अनुगमन गरिने जानकारी दिए । उनले गत वर्ष बाँध फुटेको स्थानभन्दा केही माथिको कमजोर स्थानमा कोशीले कटान गरिरहेको बताए ।

‘गत वर्ष जहाँबाट फुटेको थियो, त्यहाँ रोकथामको काम भएको छ, अहिले त्यहाँभन्दा माथि रहेको कमजोर ठाउँमा कटान गरेको भन्ने जानकारी आएको छ,’ उनले भने, ‘आज त्यहाँ जान पाएनौं, हामी भोलि अनुगमनमा जाँदैछौं ।’

यसैबीच कोशी नदीले पश्चिमतर्फ कटान सुरु गरेको भन्दै बेलका नगरपालिकाका मेयर अशोक कार्कीको अध्यक्षतामा मंगलबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले कोशीको कटानको जानकारी जिल्ला विपद् व्यवस्थापन समितिलाई गराइएको नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष कटुवालले जानकारी दिए । 

कोशी नदी पश्चिमतर्फ सोझिएको खण्डमा करिब चार हजार बिगहामा लगाइएको मकैबाली र दुई हजार बिगहाको तरकारी खेती समेत पूर्ण रूपमा नष्ट हुनसक्ने जनाइएको छ ।

२०६५ भदौ २ गते सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउँदा ठूलो क्षति भएको थियो । त्यसपछिका वर्षहरूमा कोशीको बहाव क्रमशः पश्चिमतर्फ सर्दै आएको छ । जलस्रोतविद् अजय दीक्षितले सप्तकोशीको बहाव परिवर्तनले पश्चिमतर्फ कोशीको प्रवेशले निकै ठूलो चुनौती थपेको बताएका छन् ।

कोशी नदीमा मंगलबार बिहानसम्म पानीको बहाव १ लाख ४८ हजार क्यूसेक मापन गरिएको छ । पूर्वी पहाडमा लगातारको वर्षाका कारण कोशीका सहायक नदीहरू अरुण र तमोरमा मिसिने सहायक खोलाहरूमा पानीको बहाव उच्च छ । अरुण र तमोर सप्तकोशीमा मिसिने प्रमुख दुई ठूला नदी हुन् ।

कोशीले कटान गर्दै पश्चिमतर्फ प्रवेश गरे उदयपुरको बेलका नगरपालिकाका पाँचवटा वडाहरूसहित सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नं. ४ र ६ तथा मधेस प्रदेशको सप्तरी जिल्लास्थित कन्चनरूप नगरपालिकाका केही वडाहरूसम्मै डुबान हुनेछ । जसका कारण करिब पाँच हजार घरधुरी प्रत्यक्ष प्रभावित हुनसक्ने जनाइएको छ ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x