कोशी

पालिका अध्यक्षविरुद्ध वडाध्यक्षले सुरु गरे आमरण अनसन

बाबुराम भण्डारी |
असार ७, २०८० बिहीबार १६:७ बजे

विराटनगर - मोरङको कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जद्दु कामतले आफ्नै पालिका अध्यक्षका विरुद्धमा आमरण अनसन सुरु गरेका छन् । वडाध्यक्ष कामतले गाउँपालिकाको कार्यालय अगाडि बिहीबार अपरान्हदेखि अनसन सुरु गरेका हुन् ।

ठेकेदारले अलपत्र पारेको हुलाकी सडकका कारण घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएको भन्दै आन्दोलित बनेका स्थानीयलाई प्रहरीले पक्राउ गरेको थियो । हुलाकी सडक निर्माणमा गाउँपालिका अध्यक्ष देवराज चौधरीले समेत वेवास्ता गरेको भन्दै आक्रोसित बनेका स्थानीयले नाराबाजी गर्नुका साथै सवारी साधनसमेत तोडफोड गरेका थिए ।


ठेकेदारले काम नगरी छाडेको हुलाकी सडकको आन्दोलनमा आफु विरुद्ध नारा लगाएको र सार्वजनिक सवारी साधन तोडफोड गरेको भन्दै गाउँपालिका अध्यक्ष चौधरीले प्रदर्शनकारीहरुबिरुद्ध प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि मोरङ प्रहरीले राजेश कामत, शंकर पासवान, महेश कामत, विकेश मण्डल र राजा कामतसहित थप ९ जनाविरुद्ध मुद्दा चलाएको छ । 

प्रहरीले राजेशलाई पक्राउ गरेपनि बाँकी भने फरार रहेका छन् । फरार रहेका राजा कामत वडाध्यक्ष जद्दुकै छोरा हुन् । सडक अवरुद्ध गर्ने क्रममा उनीहरुले दुईवटा ट्रक र एउटा ट्याक्टर तोडफोड गरेका थिए । 

वडाध्यक्ष कामतले हुलाकी सडक निर्माणमा भइरहेको ढिलाई र त्यसबाट स्थानीयले खेप्नु परेको सास्तीका विरुद्ध प्रदर्शन भएकोमा पालिका अध्यक्ष चौधरीले उनीहरुलाई पक्राउ गरी थुन्न लगाएको आरोप लगाएका छन् । प्रहरीले पाँचैजना विरुद्ध मुद्दा चलाएपछि वडाध्यक्ष कामतले दवावका लागि अनसन सुरु गरेका हुन् । कामतले बुधबार नै पत्रकार सम्मेलन गरी अनसनको घोषणा गरेका थिए । वडाध्यक्ष कामत र पालिका अध्यक्ष चौधरी दुवै नेपाली कांग्रेस सम्वद्ध रहेका छन् । 

पालिका अध्यक्ष चौधरीले सडक आन्दोलनका नाममा पालिका र आफुविरुद्ध अशोभनीय शब्दसहितको नाराबाजी गरेपछि शान्ति सुरक्षाका लागि स्थानीय प्रशासनसँग सुरक्षाको माग गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले पाँच जनाविरुद्ध जाहेरी परेकोमा राजेश कामतलाई पक्राउ गरी उनकै बयानका आधारमा थप ५ जनाको पहिचान गरिएको बताए । जाहेरीकै आधारमा थप ९ जना बिरुद्ध अदालतबाट पक्राउको अनुमति लिइसकेपनि आरोपीहरु हाल फरार रहेको जानकारी दिए ।

अस्तव्यक्त हुलाकी सडक
राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण भइरहेको हुलाकी सडक समयमा नबनेको भन्दै मोरङका तीनै तहका जनप्रतिनिधिहरुले यसअघि आक्रोस पोखेका थिए । उनीहरुले सडकको ठेक्का लिने ठेकेदारले काम छाडेर हिंडेको आरोप लगाउँदै एक साताभित्र काम सुरु नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएपछि भएको सर्वपक्षीय छलफलमा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले काम सुरु गर्ने प्रतिवद्धता जनाएका थिए ।

विराटनगर–८ हाटखोलादेखि पूर्व रंगेली नगरपालिकाको आमतोलासम्मको खण्डलाई ठेकेदार कम्पनीले निर्माणको नाममा भत्काएर अलपत्र पारेर छाडेको छ । यो सडक नबन्दा स्थानीयले धुलो र हिलोको सामना गर्नु परेको भन्दै गुनासो गरिरहेका छन् ।

सडक निर्माणको ठेक्का पाएका कम्पनीहरुले ठेक्का पाएर काम सुरु गरेपनि हुलाकी सडकलाई विभिन्न ठाउँमा अपुरो छाडेको, भएका काम पनि गुणस्तरीय नभएको, सडक निर्माणका क्रममा असुविधा सिर्जना गराएको र स्वास्थ्यमाथि खेलबाड गरेको स्थानीयहरुले आरोप लगाउँदै आएका छन् ।

भारतीय अनुदान प्रतिवद्धतामा निर्माण सुरु भएको हुलाकी सडकलाई तराईका जिल्ला जोड्ने महत्वपूर्ण सडक सञ्जाल मानिंदै आएको छ । तर यो सडक निर्माणमा भारतले प्रतिवद्धता अनुसारको बजेट दिएको छैन । अर्कोतिर नेपाल सरकारले पनि हुलाकी सडकलाई आवश्यक ठुलो बजेट अलग्गै रुपमा जुटाउन सकेको छैन ।
हुलाकी सडक निर्माणको इतिहासले १५ बर्ष पुरा गरिसकेको अवस्थामा पनि अहिलेसम्म पुरा नभएको जनप्रतिनिधिहरुको भनाई छ । सडकको धेरै खण्ड अहिलेसम्म अलपत्र परेका छन् । 

मोरङ खण्डमा मात्रै ४४ किलोमिटर रहेको हुलाकी सडकको रंगेलीसहितका ठाउँमा जम्मा सात किलोमिटर मात्रै कालोपत्रे भएको हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीले जनाएको छ । 

बेतौनादेखि नयाँ बजारसम्मको १२ किलोमिटर खण्डको कामको जिम्मा पाएको पिएस गजुरमुखी मोतीदान जेभी काम छाडेर बेपत्ता छ । त्यसैगरी कान्छाराम कन्ट्रक्सनले समेत हुलाकी सडक निर्माणको कामका लागि मोबिलाइजेशन लिएर कामै नगरी बसेको छ । 

सडकको दुरावस्थाका कारण यहि सडक खण्डमा केहिदिन अघिमात्रै एक साइकल यात्रीलाई ट्रकले ठक्कर दिंदा मृत्यु भएको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x