कोशी

बाढी पहिरोमा मृत्यु भएका परिवारलाई प्रदेश सरकारले पठायो ६ लाख राहत

इकागज |
असार ८, २०८० शुक्रबार ११:२४ बजे

फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लाहरुमा बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिहरुको परिवारलाई प्रति मृतक एक लाख रुपैयाँ दरले राहत दिने निर्णय अनुसार ६ जनाको परिवारलाई राहत रकम पठाइएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाका अनुसार बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिहरु मध्ये सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको कागजातका आधारमा पहिलो चरणमा ६ जनाका परिवारलाई राहत रकम पठाइएको जनाइएको छ । उनले ताप्लेजुङका तीन र पाँचथरका तीन जनाका परिवारलाई जम्मा ६ लाख रुपैयाँ पठाइएको जानकारी दिए ।


विपदबाट भएको क्षतिको खोज उद्दार तथा राहत वितरण सम्बन्धी मापदण्ड २०७६ तथा प्रचलित ऐन नियम अनुसार मृतकका परिवारको नजिकको हकवाला पहिचान गरी राहत रकम उपलब्ध गराउन स्थानीय प्रशासनलाई आग्रह गरिएको उनले बताए ।

असार २ गते रातिदेखिको अविरल वर्षापछिको बाढी र पहिरोमा परी पाँचथरको फालेलुङ–५ मेमेङकी जुना साउदेन, फिदिम–११ का हेमराज भन्न्ने संजोग लिम्बु र हिलिहाङ–७ की एलिसा माझी तथा ताप्लेजुङको सिदिङ्वा–६ का गणेश तामाङ, सोही वडाको मुखु भञ्ज्याङ गाउँका बाबुछोरा केशर राई र सुरेश राईको मृत्यु भएको थियो । पहिलो चरणमा मृतक ६ जनाका परिवारलाई राहत स्वरुप रकम पठाइएको प्रवक्ता निरौलाले बताए ।

मन्त्रालयले बाढी पहिरोमा परी क्षतिग्रस्त भएका संखुवासभाका १७ वटा घरहरु मध्ये पूर्ण क्षति भएका १३ को पुनः निर्माणका लागि प्रति घर ५० हजार र आंशिक क्षति भएका चार घरका लागि प्रति घर ३० हजार रुपैयाँका दरले राहत रकम निकासा भएको उनले जानकारी दिए ।

ताप्लेजुङ, पाँचथर, भोजपुर, संखुवासभामा बाढी पहिरोमा परी हालसम्म १० जनाको मृत्यु भइसकेको छ । एकजनाको पुरुषको कम्मर मुनिको भाग भेटिएपनि पहिचान खुल्न सकेको छैन ।

बिहीबार राति मात्रै ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरोले घर पुर्दा एकै परिवारका चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी पत्नी २१ वर्षीया शिवमाया गुरुङ, १० वर्षीय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक दिपकबहादुर केसीले बताए ।
 


Author

थप समाचार
x