कोशी

९५ देशमा सञ्चालित चेन होटल ब्राण्ड ‘रमडा’ इटहरीमा खुल्दै

इकागज |
असार ९, २०८० शनिबार १३:१८ बजे

विराटनगर । विश्वको ठूलो अमेरिकी चेन होटल फ्रेन्चाइज कम्पनी ‘रमडा’ ले पूर्वको इटहरीमा होटल व्यवसायको विस्तार गरेको छ । विश्वभर ९५ देशमा ९ हजार बढी होटलको व्यवस्थापन नेतृत्व गर्दै आएको वाइन्डहाम होटल्स एण्ड रिसोट्र्र्स र इटहरीमा निर्माणाधिन ग्राण्ड सेन्ट्रल होटलबीच ‘रमडा’ चेन होटल संचालन गर्ने सहमति भएको छ ।

ग्राण्ड सेन्ट्रल होटलका लगानीकर्ता एवं नेपाल उद्योग बाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत र रमडा चेन होटलको मातृ कम्पनी वाइन्डहाम होटल्स् एण्ड रिसोर्ट युरेशियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माबीच दिल्लीमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको बस्नेतले जानकारी दिए ।


वस्तु तथा सेवा बिक्रीको ‘हब’ बन्दै गएको इटहरीमा एकपछि अर्को ब्राण्डका ठूला होटलहरु भित्रिने क्रमले तीव्रता पाएको छ । एसिया प्यासिफिक क्षेत्रमा सबैभन्दा छिटो बढिरहेको रमडाको डेब्युट ब्राण्ड ‘रामडा बाई वाइन्डहाम’ को प्रवेशले पूर्वको होटल व्यवसायको बजारका लागि ठूलो सम्पति श्रृजना भएको दाबी गरिएको छ । 

यो होटल सन् २०२४ को मध्यबाट सञ्चालन ल्याउने तयारी भइरहेको जनाइएको छ । होटलमा ८० वटा सुविधा सम्पन्न कोठाहरु, टेरेस बार, लबि लाउञ्ज, हेल्थ क्लव र स्पा, बैठक तथा कार्यक्रम हल, स्वीमिङ पुल लगायतका सुविधाहरु हुने जनाइएको छ । त्यस्तै निजी तथा कर्पोरेट कार्यक्रमका लागि ६०० जना अट्ने क्षमता रहेको दाबी गरिएको छ । होटलमा विवाह, पार्टी, सेमिनारहरुका लागि समेत हल र कोठाहरु व्यवस्थापन गरिएको जनाइएको छ ।

हाल ‘फोर स्टार’ रेटिङमा निर्माण भइरहेको ग्राण्ड सेन्ट्रल होटल रमडाको चेनमा सञ्चालन हुँदा ‘फाइभ स्टार’ मा स्तरोन्नति भइसक्ने बस्नेतले बताए । रमडाले एशिया प्रशान्तका २० देशमा एक हजार ६०० बढि चेन होटलसँग सेवा व्यवस्थापनको नेतृत्व गर्दै आएको जनाइएको छ ।  
 

रमडाको एउटा फ्रेन्चाइज ‘रमडा इन्कोर’ भने काठमाडौंमा संचालन हुँदै आइरहेको छ । इटहरी उपमहानगरपालिका–९ मा निर्माणाधिन रहेको ग्राण्ड सेन्ट्रल यसपछि ‘रमडा’ चेन होटलका रुपमा सञ्चालन हुँदा अझ ठूलो ब्राण्ड स्थापित हुने सञ्चालक बस्नेतले बताए । रमडाको प्रवेशले मुलुककै पुर्वी क्षेत्रको होटल पर्यटन विकासमा समेत ठूलो योगदान हुने विश्वास व्यक्त गरे ।

सम्झौतापछि वाइन्डहाम होटल्स् एण्ड रिसोर्ट युरेशियाका बजार प्रबन्ध निर्देशक शर्माले नेपालमा आफ्नो अझ ठूलो ब्राण्ड विस्तार भएकोले आगन्तुकहरुलाई विश्वस्तरीय आतिथ्यता प्रदान गर्न आफूहरु समक्ष हुने बताए । होटल सञ्चालन भएपछि एकसय जना बढीले रोजगारी समेत प्राप्त गर्नेछन् ।


Author

थप समाचार
x