कोशी

कोशीमा मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि बजेट अध्यादेश पेश हुने कार्यसूची

इकागज |
असार १४, २०८० बिहीबार १०:५३ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्नुभन्दा पहिले भने आगामी आर्थिक बर्षको बजेटसम्बन्धि अध्यादेश पेश हुने कार्यसूची रहेको छ । आज बिहीबार दिउँसो १ बजेको लागि कोशी प्रदेशको प्रदेश सभा बैठक बोलाइएको छ ।

प्रदेश सभा सचिवायलयले सार्वजनिक गरेको बिहीबारको प्रदेश सभा बैठकको कार्यसूचीको सुरुमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेको पत्र बाचन हुनेछ ।


त्यसपछि पुनः संविधानको धारा २०२ बमोजिम प्रदेश सभामा प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यन्वयन गर्न बनेको अध्यादेश २०८० र आर्थिक बर्ष २०८०/८१ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही 

रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०८० पेश हुने कार्यसूची रहेको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

दुईवटै अध्यादेश प्रदेश सभामा पेश भएपछि पेश भएपछि मात्रै मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रक्रिया अघि बढ्ने छ ।

अध्यादेशसम्बन्धि संविधानको धारा २०२ को उपधारा (१) मा प्रदेश सभा चलिरहेको अवस्थामा बाहेक प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने उल्लेख छ । उपधारा (२) को (क) प्रदेश प्रमुखबाट अध्यादेश जारी भएपछि बसेको प्रदेश सभाको बैठकमा पेश गर्नुपर्ने व्यवस्था छ ।

उक्त प्रस्ताव पेश भएपछि मात्रै संविधानको धारा १८८ को उपधारा (२) तथा कोशी प्रदेश सभा नियमावली २०७४ को नियम १२८ (४) बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको जनाइएको छ ।


Author

थप समाचार
x