कोशी

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले पठाए विपक्षी दललाई पत्र

इकागज |
असार १४, २०८० बिहीबार १२:१ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा आफ्नो विपक्षमा रहेका दलहरुलाई पत्र पठाउँदै विश्वासको मत मागेका छन् । 

उनले आफु पाँच वर्षसम्म सरकार संचालन कसरी र कुन विधिबाट गर्ने भन्ने विषयमा थप छलफल गर्न तयार रहेको व्यहोरासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई पत्र पठाएका हुन् ।


पत्रमा नेपालको संविधान र प्रचलित कानुन बमोजिम बिहीबार बोलाइएको प्रदेश सभा बैठकमा आफुले विश्वासको मत लिन लागेको उल्लेख गरेका छन् । प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरु पुरा गर्नका निम्ति पटक–पटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा संघीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्नेतर्फ समेत मुख्यमन्त्री कार्कीले पत्रमार्फत प्रतिपक्षी दलहरुको ध्यानाकर्षण गराएका छन् ।

‘प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतले कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न आवश्यक ठानी विश्वासको मत माग गर्न गइरहेको व्यहोरा अनुरोध गर्न चाहान्छु । प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरु पुरा गर्नका निम्ति पटकपटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा संघीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्ने तथ्यलाई समेत मध्यनजर गर्दै यहाँले आफ्नो दलको तर्फबाट मलाई विश्वासको मत दिनुहुन्छ भन्ने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु । पाँच वर्षसम्म सरकार संचालन कसरी र कुन विधिबाट गर्ने भन्ने विषयमा थप छलफल गर्न तयार रहेको व्यहोरासमेत अनुरोध गर्दछु’ पत्रमा भनिएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले दलका नेताको तर्फबाट पठाइएको पत्र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका दलहरुलाई बुझाएका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिनका लागि आज बिहीबार दिउँसो १ बजे प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक आह्वान भइसकेको छ । प्रदेश सभा सचिवालयले विश्वासको मत लिनका लागि कार्यसूची समेत निकालिसकेको छ ।


Author

थप समाचार
x