कोशी

विश्वासको मत माग्ने मुख्यमन्त्री कार्कीलाई संसदमै जवाफ दिन्छौं : कांग्रेस

इकागज |
असार १४, २०८० बिहीबार १३:१९ बजे

फाइल फोटो

विराटनगर - पत्रमार्फत विश्वासको मत मागेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रदेश सभामै जवाफ दिने कांग्रेसले जनाएको छ । प्रदेश सभाको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले मुख्यमन्त्रीबाट विश्वासको मत माग्दै पठाइएको पत्र आएको बताए । पत्रको जवाफ भने प्रदेश बैठकमै दिने निर्णय भएको उनले बताए ।

‘मुख्यमन्त्रीले विश्वासको मत मागेर पत्र हामीलाई पठाउनु भएको पत्र प्राप्त भयो, यसको जवाफ हामी बैठकमै दिन्छौं’ प्रमुख सचेतक राईले भने, ‘सबै कुराको छिनोफानो अब प्रदेश सभाभित्रै हुन्छ, कार्यव्यवस्थाबाट कार्यसूचीको बिषय अघि बढाउने सहमति भयो ।’


कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत माग्दै नेपाली कांग्रेससहित प्रतिपक्षमा रहेका दलहरुलाई पत्र नै पठाएका थिए । 

उनले आफू पाँच वर्षसम्म सरकार संचालन कसरी र कुन विधिबाट गर्ने भन्ने विषयमा थप छलफल गर्न तयार रहेको व्यहोरासहित पत्र पठाएका हुन् । मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरु पुरा गर्नका निम्ति पटक–पटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा संघीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्नेतर्फ समेत पत्रमार्फत प्रतिपक्षी दलहरुको ध्यानाकर्षण गराएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आजै दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक बस्न लागेको छ ।


Author

थप समाचार
x