कोशी

३० मिनेटलाई स्थगित भएको कोशी प्रदेश सभाको बैठक आजै ८ बजे बस्दै

इकागज |
असार १४, २०८० बिहीबार २०:० बजे

विराटनगर- ३० मिनेटका लागि स्थगित भएको कोशी प्रदेशको प्रदेश सभा बैठक अहिले साँझ ८ बजे बस्न लागेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत मागिसकेका छन् ।


उनले विश्वासको मत मागेपछि दलका नेताहरूले बोल्ने क्रम समेत सकिएको छ । त्यसपछि सभामुख बाबुराम गौतमले ३० मिनेटका लागि स्थगित गरेको प्रदेश सभा बैठक सुरु हुन सकेको थिएन । प्रदेश सभा परिसरबाट केही तयारी गर्न भन्दै मुख्यमन्त्री कार्की निस्किएका थिए । प्रदेश सभा सदस्यहरू भने बैठक सुरु हुने कि नहुने भन्ने अन्योलमा रहेका थिए ।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले ३० मिनेटसम्मको लागि स्थगन भएकोमा विशेष कारण बस स्थगन पछिको आजको बैठकको कारबाहीका लागि २०८०/३/१४ गते साँझ ८ बजे बस्ने व्यहोराको सूचना प्रकाशित गरेका छन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीलाई ६ सिट रहेको राप्रपाले विश्वासको मत दिने बचन दिइसकेको छ । प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न ४७ सिट आवश्यक हुने भए पनि एमालेको ४० सिट र राप्रपाको ६ सहित ४६ सांसद मात्रै रहेका छन् ।

प्रदेश सभाको बैठकमा बोल्ने क्रममा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसले भने सरकारलाई विश्वासको मत दिन नसकिने बताइसकेका छन् । त्यस्तै एक सांसद रहेको जनता समाजवादीले भने एमालेसहित कुनै पनि दलको पक्षमा मतदान नगर्ने भन्दै बिहीबार अपरान्ह नै विज्ञप्ति निकालेर जानकारी गराइसकेको छ ।


Author

थप समाचार
x