कोशी

कोशीको प्रदेश सभा बैठक शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित

इकागज |
असार १४, २०८० बिहीबार २१:५३ बजे

विराटनगर- ३० मिनेटका लागि स्थगित भएर पुनः ८ बजे बस्ने भनिएकाे कोशी प्रदेशको प्रदेश सभा बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मलाई स्थगित भएको छ । बैठक स्थगित भएको सूचना प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना पाटीमा टाँसेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा उनले आफूलाई विश्वासको मत मागिसकेका छन् । 


विश्वासको मत मागेपछि दलका नेताहरूले बोल्ने क्रम समेत सकिएको थियो । त्यसपछि सभामुख बाबुराम गौतमले ३० मिनेटका लागि स्थगित गरेको प्रदेश सभा बैठक सुरु हुन नसकेपछि राति ८ बजे बस्ने गरी सूचना निकालिएको थियो ।

प्रदेश सभा परिसरबाट केही तयारी गर्न भन्दै मुख्यमन्त्री कार्की निस्किएका थिए । प्रदेश सभा सदस्यहरू भने बैठक सुरु हुने कि नहुने भन्ने अन्योलमा बिहीबार राति ९:३० सम्म प्रदेश सभाको बैठक भवनमा कुरेका थिए ।

९३ सदस्यीय कोशी प्रदेश सभामा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीलाई ६ सिट रहेको राप्रपाले विश्वासको मत दिने बचन दिइसकेको छ । प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न ४७ सिट आवश्यक छ । एमालेको ४० सिट र राप्रपाको ६ सहित ४६ सांसद मात्रै रहेका छन् ।

 


Author

थप समाचार
x