कोशी

एक घण्टा ढिलो गरेर कोशी प्रदेश सभाको बैठक सुरु

मुख्यमन्त्री कार्कीले मागेको विश्वासको मत निर्णयार्थ पेश हुँदै

इकागज |
असार १५, २०८० शुक्रबार १२:१९ बजे

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्न बिहीबार प्रदेश सभा बैठकमा प्रस्तुत गरेको प्रस्ताव आज निर्णयार्थ पेश हुने भएको छ । विश्वासको मत माग्ने प्रस्ताव निर्णयार्थ पेश गर्न शुक्रबार विहान ११ बजेलाई बोलाइएको बैठक करीव एक घण्टा ढिलो गरी सुरु भएको छ ।

मुख्यमन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रतिपक्षमा रहेको नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसँग लिखित रुपमै विश्वासको मत मागिसकेका छन् । तर मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दै प्रदेश सभामा प्रस्ताव पेस गरेपछि कांग्रेस, माओवादी र नेकपा एसले भने विश्वासको मत नदिने हिजै भनिसकेका छन् । जसपाकी एकमात्र सांसद निर्मला लिम्बुले भने तटस्थ बस्ने पार्टीको निर्णय भन्दै बोलेकी थिइनन् । उनी आजको बैठकमा समेत अनुपस्थित भएकी छन् ।


मुख्यमन्त्री कार्कीको पक्षमा अहिले नेकपा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ सिट गरी ४६ सिटको समर्थन देखिन्छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न उनलाई ४७ सांसदको समर्थन आवश्यक छ । जसपाले मत दिने सम्भावना भएको भन्दै केही उत्साहित देखिएका मुख्यमन्त्री कार्की पछिल्लो निर्णयले निरास बनेका हुन् ।

प्रतिपक्षमा कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ सिट जोड्दा पनि ४६ मात्रै हुन्छ । मुख्यमन्त्री कार्कीले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था अनुसार विश्वासको मत मागेका छन् ।

उपधारा (३) मा उपधारा (२) बमोजिम पेश भएको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । यही व्यवस्था अनुसार ९३ सदस्यीय प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको ४७ सिट सिद्ध गर्नुपर्ने मुख्यमन्त्रीलाई चुनौती छ ।


Author

थप समाचार
x