कोशी

अर्को सरकार नबनुन्जेल मुख्यमन्त्री तोकिए कार्की

इकागज |
असार १५, २०८० शुक्रबार १८:४ बजे

विराटनगर- प्रदेश सभाबाट विश्वासको मत प्राप्त नसकेपछि पदमुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अर्को सरकार नबनुन्जेलसम्मका लागि कार्यसञ्चालन गर्ने गरी मुख्यमन्त्री तोकिएका छन् । 

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मिति २०७९/९/२४ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेकोले अर्को मन्त्रिपरिषद् गठन नहुन्जेल यही मन्त्रिपरिषदले कार्यसञ्चालन गर्ने गरी तोकेका हुन् ।


मुख्यमन्त्री कार्कीले शुक्रबार कोशी प्रदेश सभामा आफूलाई विश्वासको मत माग्दै प्रस्तुत गरेको प्रस्तावको पक्षमा बहुमत नपुगेपछि पदमुक्त भएका छन् । प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक रहेको थियो । मुख्यमन्त्री कार्कीले बिहीबारको प्रदेश सभामा विश्वासको मत मागेका थिए ।

प्रदेश प्रमुखको कार्यालयको विज्ञप्तिमा भनिएको छ, 'मुख्यमन्त्री हिक्मत कुमार कार्कीज्यूले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मिति २०८०/३/१४ मा कोशी प्रदेश सभामा विश्वासको मतको लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम मिति २०८० / ३ / १५ मा पारित हुन नसकेको भन्ने समेतको ब्यहोरा कोशी प्रदेश सभाका माननीय सभामुखज्युको मिति २०८०/३/१५ को पत्र प्राप्त हुन आएकोले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम यही प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नुभएको छ ।'


Author

थप समाचार
x