कोशी

कोशी प्रदेशमा तीन दिन बित्दा पनि सुरु भएन सरकार गठन प्रक्रिया

इकागज |
असार १७, २०८० आइतबार १७:२८ बजे

विराटनगर- कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन सकेको छैन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पारित हुन नसकेको जानकारी कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले शुक्रबार नै प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए ।

सभामुखको पत्रकै आधारमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री कार्कीले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा विश्वासको मतका लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) अनुसार पारित हुन नसकेको भन्दै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही प्रदेश मन्त्रिपरिषद्ले कार्य–सञ्चालन गर्ने गरी प्रदेश प्रमुखको कार्यालयले तोकेको थियो ।


प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार नै नयाँ सरकार गठनको प्रक्रिया आह्वान गर्ने अपेक्षा गरिए पनि तीन दिन बित्न लाग्दासम्म सरकार निर्माणको प्रक्रिया अघि नबढेको हो । प्रदेश प्रमुख खापुङले नयाँ सरकार संविधानको धारा १६८ को उपधारा (२) वा (३) कुन बमोजिम प्रक्रिया अघि बढाउने भन्ने विषयमा टुंगोमा नपुग्दा कामचलाउ मुख्यमन्त्री कार्कीको कार्यकाल दुई दिन भए पनि लम्बिएको छ ।

प्रदेश प्रमुख खापुङले शनिबार नयाँ सरकार गठनको विषयमा कानुनी राय लिन केही कानुन व्यवसायीहरूसँग समेत छलफल गरेका थिए । तर, उनले मुख्यमन्त्री कार्की पदमुक्त भएको तीन दिन हुँदासम्म पनि सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न सकेका छैनन् ।

एमाले संसदीय दलका नेता समेत रहेका सरकारका कामचलाउ मुख्यमन्त्री कार्की र उनकै गठबन्धनमा रहेको राप्रपा संसदीय दलका नेता एवं सरकारका मन्त्री भक्तिप्रसाद सिटौलाले शुक्रबार नै प्रदेश प्रमुख खापुङ्गलाई भेटेर प्रदेशको राजनीतिक परिस्थिति र प्रदेश सभाको अंकगणितबारे जानकारी गराएका थिए । एमाले र राप्रपाले प्रदेश प्रमुख खापुङ्गलाई भेटे लगत्तै प्रतिपक्षी दलहरूका नेताहरूले समेत भेटघाट गरेका थिए ।

एमाले र राप्रपाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बनेको वर्तमान सरकारले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेको र विपक्षी दलहरूले समेत विश्वासको मतको विपक्षमा बहुमत देखाउन नसकेको विषयमा प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएका थिए ।

विपक्षी गठबन्धनका नेताहरूले भने उपधारा (२) बमोजिमकै सरकार गठन गर्ने सम्भावना कायमै रहेको भन्दै सोही अनुसार हुनुपर्नेमा प्रदेश प्रमुख खापुङ्ग समक्ष जोड दिएका थिए ।

आइतबार साँझ साढे ४ बज्दासम्म कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया आरम्भ भएको छैन । केन्द्रीय गठबन्धनकै भावना अनुसारको सरकार बनाउने योजनामा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र संसदीय दलका नेताहरू भने अहिले काठमाडौँ केन्द्रित दौडधूपमा छन् ।

उनीहरूबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति नजुटेका कारण त्यसको असर नयाँ सरकार गठनको प्रक्रिया आरम्भसम्म परेको हुनसक्ने चर्चा सुरु भएको छ । तीन दिन बित्दा पनि सरकार गठनको प्रक्रिया सुरु हुँदा कोशी प्रदेशको राजनीतिमा नजिकबाट चासो राख्ने विभिन्न दलका नेता कार्यकर्ताहरूले भने सरकार गठनको ढिलाइप्रति सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।


Author

थप समाचार
x