कोशी

कांग्रेस प्रदेश पदाधिकारी बैठक

दलका नेता थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय

इकागज |
असार १७, २०८० आइतबार १८:१० बजे

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश समितिको आइतबार बसेको पदाधिकारी बैठकले कोशी प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ ।

एमाले नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । तर, कसको नेतृत्वमा सरकार गठन हुने भन्ने विषयमा अहिलेसम्म प्रतिपक्षी दलहरूमा सहमति जुट्न नसकेको बेलामा कांग्रेसको प्रदेश पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । 


काठमाडौँमा आइतबार प्रदेश समितिका सभापति एवं कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाकै नेतृत्वमा सरकार गठन गर्न प्रदेश कार्यसमितिको तर्फबाट नेतृत्व समक्ष पहल गर्ने निर्णय गरेको नेपाली कांग्रेस कोशी प्रदेश समितिकी सह–महामन्त्री प्रमिला गच्छदारले जानकारी दिइन् ।

उनले प्रदेश सभामा प्रतिपक्षी गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस भएकाले दलका नेता थापाको नेतृत्वमा सरकार गठन गर्न माग गर्ने पदाधिकारी बैठकले सर्वसम्मत रूपमा निर्णय गरेको बताइन् ।

‘आज हाम्रो पदाधिकारी बैठक काठमाडौँमा बसेको छ, बैठकले प्रतिपक्षीमा रहेका दलहरू मध्ये सबैभन्दा ठूलो कांग्रेस भएकोले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने हाम्रो ठहर हो,’ उनले भनिन्, ‘हाम्रो नेतृत्वमा सरकार बन्दा पार्टी प्रदेश समितिका सभापति एवं दलका नेता थापाकै नेतृत्व हुने र त्यसका लागि पार्टी नेतृत्व समक्ष पहल गर्ने निर्णय भएको छ ।’ 

उनले प्रदेश समितिको तर्फबाट नेताहरू समक्ष कांग्रेस नेतृत्वमा सरकार गठनका लागि छलफल र परामर्श समेत भइरहेको जानकारी दिइन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत गुमाएर पदमुक्त भए लगत्तै कांग्रेस संसदीय दलका नेता थापा काठमाडौँमा मुख्यमन्त्रीको दौडधूपमा केन्द्रित छन् । थापा कांग्रेसभित्र नेता कृष्ण सिटौला निकटका नेता हुन् । उनी कांग्रेसको संस्थापन समूहकै समर्थनमा प्रदेश समितिको निर्वाचनमा कोइराला समूहका गुरुराज घिमिरेलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए ।

दलका नेता थापाकै समूहमा रहेका कांग्रेसका एक प्रदेश सभा सदस्यले कोशी प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल समेत सकारात्मक रहेको दाबी गरेका छन् । दाहालले आफ्नो प्रधानमन्त्री पद जोगाउनका लागि कांग्रेससँगको सम्बन्धलाई कायमै राखिराख्नका लागि पनि कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिन तयार रहेको दाबी गरेका छन् ।

कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि मुख्यमन्त्रीकै दौडमा भेटघाटमा व्यस्त छन् ।


Author

थप समाचार
x