कोशी

गठबन्धनका आधारमा सरकार बनाउँछौं : उद्धव थापा

इकागज |
असार २१, २०८० बिहीबार १४:३५ बजे

विराटनगर- केन्द्रीय गठबन्धनको निर्णय अनुसार कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा रहेका नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले तत्काललाई राप्रपाबिनै सरकार गठन हुने बताएका छन् । उनले अहिलेको गठबन्धनमा रहेका दलहरूबीचको दलीय गठबन्धनका आधारमा बहुमतको सरकार बनाउने दाबी गरेका हुन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा भएको ‘लविङ’ सफल बनाएर बिहीबार अपराह्न विराटनगर विमानस्थलमा ओर्लिएका थापाले आजै प्रदेश प्रमुख समक्ष सरकार गठनको दाबी पेस गर्ने जानकारी दिए । उनले सभामुखलाई संसदीय दलको सदस्यमा गन्न नमिल्ने एमालेको भनाइको पछि आफूहरू नरहेको रहेको स्पष्ट पारे ।


‘आज दाबी पेस गर्दैछौं, त्यसपछि हामी बसेर नयाँ मन्त्रिमण्डल निर्माण गरेर अगाडि बढ्छौं,’ बहुमत कसरी पुग्छ भन्ने प्रश्नमा थापाले भने, ‘हामी बहुमतसहितको सरकार बनाउँछौं, हामीले कस-कसको साथ सहयोग पाउँछौं पछि थाहा पाइहाल्नु हुन्छ, अहिले चैं दलीय गठबन्धनको आधारबाट बहुमतसहितको सरकार बनाउँछौं ।’

सभामुखलाई दलको सदस्यमा गन्न मिल्छ त भन्ने प्रश्नमा उनले कसले के भन्छ भनेर भन्नेको पछाडि नलाग्ने जवाफ दिए । प्रदेश प्रमुखको कार्यालयमा पुगेर साँझ साढे ४ देखि ५ बजेसम्म दाबी पेस गर्ने तयारी रहेको थापाले बताए । ‘राप्रपालाई पनि ल्याउन हाम्रो प्रयास छ, शीर्ष नेतृत्व तहमा छलफल चलिरहेको छ,’ उनले भने, ‘अहिले नौ वटा मन्त्रालयभित्रै बसेर सरकार बनाउँछौं, मन्त्रालय थप्दैनौँ, जे छ अहिलेको सरकारको स्वरूपभित्रै बसेर सरकार निर्माण गर्छौं ।’

दाबी पेसपछि प्रदेश प्रमुखबाट नियुक्ति पाउने र त्यसपछि मन्त्रिमण्डलको आकारबारे गठबन्धन बसेर तय गर्ने थापाले बताए ।

अहिलेकै गठबन्धनको आधारमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीको दाबी पेस गर्न लागेका थापालाई नेपाली कांग्रेसको २९, माओवादीबाट सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ गरी ४७ सांसदको समर्थन देखिन्छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि पनि ४७ जनाकै समर्थन आवश्यक पर्छ । तर, एमाले र राप्रपाले भने सभामुख बाबुराम गौतमलाई माओवादी केन्द्रको संसदीय दलको सदस्यमा गन्न नमिल्ने बताइरहेका छन् । सभामुख गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनी २०७९ पुस २८ गते तत्कालीन एमाले–माओवादी गठबन्धनको समर्थनमा सभामुख निर्वाचित भएका थिए ।

सभामुख निर्वाचनपछि आफ्नो कार्यकालको पहिलो बैठक सञ्चालन गर्दै ‘निष्पक्षताको पदमा आशिन हुँदै गर्दा मेरो हालसम्म रहेको दलसँगको आबद्धता यो सभामुख पदको भूमिका निर्वाह गर्ने कार्यकालसम्म आजैको मितिदेखि अलग भएको समेत यस गरिमामय सभा समक्ष घोषणा गर्दछु,’ भन्दै दलीय आबद्धताबाट अलग भएको घोषणा गरेका थिए ।


Author

थप समाचार
x