कोशी

सभामुखलाई दलको सदस्यमा गणना गर्न नमिल्ने भन्दै एमाले र राप्रपाले गराए प्रदेश प्रमुखको ध्यानाकर्षण

इकागज |
असार २१, २०८० बिहीबार १६:३१ बजे

विराटनगर- चार दलीय गठबन्धनले सभामुख बाबुराम गौतमलाई समेत दलको सदस्य बनाएर सरकार गठनको दाबी गर्न लागेको भन्दै नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश प्रमुख परशुराम खापुङ्गको ध्यानाकर्षण गराएका छन् ।

एमाले संसदीय दलका नेता एवं काम चलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्की र राप्रपा संसदीय दलका नेता भक्तीप्रसाद सिटौलासहितको उपस्थितिमा प्रदेश प्रमुख खापुङ्गको ध्यानाकर्षण गराएका हुन् ।


गठबन्धनका दलहरूले आजै सरकार गठनको दाबी गर्दैछन् । प्रदेश प्रमुख खापुङ्गले साँझ ५ बजेसम्म सरकार गठनको दाबी पेस गर्न दलहरूलाई समयसीमा दिएका छन् ।

गठबन्धन दलहरूको तर्फबाट काङ्ग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको एक गरी ४७ जना प्रदेश सभा सदस्यको बहुमत देखाएर सरकार गठनको गर्ने तयारी गरिरहेका छन् । तर, एमाले र राप्रपाले भने सभामुखले दलको जिम्मेवारी त्यागेर स्वतन्त्र भूमिकामा रहेकोले उनलाई माओवादी संसदीय दलको सदस्यमा गणना गर्नु असंवैधानिक हुने दाबी गर्दै आएको छ ।

एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले ध्यानाकर्षण पत्र पढेर प्रदेश प्रमुख खापुङ्गलाई जानकारी गराएका हुन् ।

'अहिले कोशी प्रदेश सभाका माननीय सभामुख बाबुराम गौतम कुनै पनि दलको सदस्य होइन र उहाँको नाम सरकार गठनका लागि संख्यामा गणना गर्न संविधान, कानुन, संसदीय मूल्य मान्यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्त एवम् अभ्यास विपरीत हुने र स्वयम् सभामुखको गरिमामा समेत गम्भीर प्रश्न उठ्नेछ,' ध्यानाकर्षण पत्रमा भनिएको छ, 'सभामुख पदमा आशिन व्यक्ति निष्पक्ष र तटस्थ भूमिकामा रहने हुँदा कुनै निश्चित दलको संख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत पुर्याएको भनी संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनका लागि दावी पेस भई आएमा मुख्यमन्त्री नियुक्त नगर्नका लागि माननीय प्रदेश प्रमुखज्यू समक्ष विनम्रतापूर्वक यो ध्यानाकर्षण पत्र पेस गरेको छु ।'

जसपा, माओवादी र राप्रपाको समर्थनमा कोशी प्रदेश सभाको दोस्रो निर्वाचनपछिको पहिलो मुख्यमन्त्री बनेका कार्की १७४ दिनको कार्यकालमै असार १५ गते पदमुक्त भएका थिए । 

जसपा र माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए । तर, उनी विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका थिए ।


Author

थप समाचार
x