कोशी

सरकार गठनमा सभामुखको संलग्नता असंवैधानिक, अलोकतान्त्रिक र गैरसंसदीय : एमाले

इकागज |
असार २२, २०८० शुक्रबार ६:५९ बजे

विराटनगर- सभामुख बाबुराम गौतमको समेत अलग्गै हस्ताक्षरमा प्रदेश सभाको बहुमत देखाएर  कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई गरिएको मुख्यमन्त्री नियुक्तीको प्रक्रिया असंवैधानिक, अलोकतान्त्रिक र गैरसंसदीय कार्य भएको एमालेले आरोप लगाएको छ ।

सरकार गठनको दाबी पेश गर्ने पत्रमै सभामुख गौतमले हस्ताक्षर गरेका थिए । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि आवश्यक संख्या ४७ जुटाउनका लागि सभामुख गौतमले नै हस्ताक्षर गरेपछि उनको भूमिकालाई लिएर चौतर्फी आलोचना भइरहेको छ । 


एमालेले बिहीबार अपरान्हमात्रै प्रदेश प्रमुख परशुराम खापुङ्गलाई कार्यकक्षमै भेटेर र सभामुख गौतमको उनकै सचिवालयमा सरकार गठनको उदेश्यका लागि सभामुखको सिट संख्या गणना गर्न नपाइने भन्दै ध्यानाकर्षण गराएको थियो । एमाले कोशीका संसदीय दलका उपनेता रामबहादुर मगरले विज्ञप्तिमार्फत सरकार गठनमा सभामुखको हस्ताक्षर प्रयोग हुने कार्यको भत्र्सना गरेका छन् । 

एमालेले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरू मिली दावी पेश गर्ने भन्ने व्यवस्था भएपनि थापाको नेतृत्वमा कोशी प्रदेश सभाका सभामुखको जिम्मेवारीमा रहेका गौतमको हस्ताक्षर राखी बहुमत देखाउनु संविधानमाथिकै प्रहार भएको दाबी गरेको छ ।

एमालेले सभामुखलाई संलग्न गराउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी दलले गैरजिम्मेवार पूर्ण कार्य गरेको त्यसलाई असंवैधानिक, अलोकतान्त्रिक र गैर संसदीय भनेको हो ।

असार १५ गते एमाले संसदीय दलका नेता तथा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनमा प्रदेश सभामा मत विभाजन हु“दा प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत प्राप्त भएको बिषयलाई समेत भुलेर सरकार गठनमै सभामुखको हस्ताक्षर प्रयोग गरिएकोमा आपत्ति जनाएको छ । एमालेले यस्ता विषयमा प्रदेश प्रमुख समक्ष गम्भीर ध्यानाकर्षण गराउँदा पनि असंवैधानिक ढंगबाट मुख्यमन्त्री नियुक्त गर्नु दुखःद भएको बताएको छ ।

कानूनी राज्य, संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्यमान्यताको रक्षा र संसदीय व्यवस्थाको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन संसदीय दल प्रतिबद्ध रहेको एमाले संसदीय दलका उपनेता मगरले बताए । साथै सभामुखको भूमिका कारण कोशी प्रदेशमा उत्पन्न हुन सक्ने संवैधानिक र कानूनी जटिलताको जिम्मेवारी स्वयम् गठबन्धनले लिनुपर्नेमा उनले चेतावनी समेत दिएका छन् ।


Author

थप समाचार
x