कोशी

कोशी प्रदेश सरकार गठनविरुद्ध हिक्मतले दायर गरेको रिट दोस्रो दिन पनि ‘हेर्न नभ्याइने’ सूचीमा

इकागज |
असार २५, २०८० सोमबार १६:३० बजे

विराटनगर- कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दोस्रो दिन पनि हेर्न नभ्याइने सूचीमा परेको छ । उक्त रिट सोमबार न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासमा परेको थियो ।

आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पनि हेर्न नभ्याइने सूचीमा परेको थियो ।


कार्कीले वर्तमान मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार गठनको दाबी पेस हुँदा कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरबाट प्रदेश सभाको बहुमत संख्या ४७ पुर्याइएकोमा त्यसलाई गैरसंवैधानिक र गैरसंसदीय कार्य भएको बताउँदै शुक्रबार सर्वोच्च अदालतमा उत्प्रेषण परमादेश माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

स्वतन्त्र भूमिकामा रहनुपर्ने संवैधानिक र नैतिक जिम्मेवारीमा रहेका सभामुख गौतमले सरकार गठनको दाबी पत्रमा गरेको हस्ताक्षरलाई नै मान्यता दिँदै कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

थापा मुख्यमन्त्रीमा नियुक्त भए पनि एमालेका कार्कीले प्रदेश प्रमुख खापुङ्गसहित मुख्यमन्त्री थापा र सभामुख गौतमलाई प्रतिपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।


Author

थप समाचार
x