कोशी

विराटनगर महानगरको न्यायिक समितिमा ८८ प्रतिशत उजुरी फर्छ्यौट

इकागज |
साउन ४, २०८० बिहीबार २१:२ बजे

विराटनगर- विराटनगर महानगरपालिकाको न्यायिक समितिले गत आर्थिक वर्ष २०७९-८० मा दर्ता भएका मध्ये ८८ प्रतिशत उजुरीहरूको फर्छ्याैट गरेको छ । 

न्यायिक समितिमा दर्ता भएका कूल २३७ उजुरीहरू मध्ये २०९ वटा फर्छ्याैट गरिएको उपमेयर एवं न्यायिक समितिकी संयोजक शिल्पा निराला कार्कीले बताइन् । 


दर्ता भएका मध्ये ४४ वटा उजुरीमा मिलापत्र भएको जनाइएको छ । ३९ वटा उजुरीलाई भने न्यायिक प्रक्रियाका लागि जिल्ला अदालत मोरङमा पठाएको हो । 
१९ वटा वडाहरू रहेको विराटनगर महानगरपालिकामा सबैभन्दा बढी वडा नम्बर १२ बाट २१ र सबैभन्दा कम १८ नम्बरबाट ३ वटा उजुरी दर्ता भएका थिए ।

कूल दर्ता भएका उजुरीहरू मध्ये साँध सिमानासम्बन्धी विवादका ५५, महिला तथा घरेलु हिंसासम्बन्धी २९ र श्रीमान्–श्रीमती विवादसम्बन्धी २९ वटा उजुरी परेका थिए । 
त्यस्तै खान लगाउन नदिएको, कुटपिट, दाइजो, लेनदेनसम्बन्धी उजुरी पनि परेको उपमेयर कार्कीले बताइन् । न्यायिक समितिमा गत आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये अब २८ वटा मात्रै फर्छ्याैट हुन बाँकी रहेको जनाइएको छ ।

‘६ वर्षयताकै सबैभन्दा धेरै उजुरीको निर्णय हामीले गरेका छौं,’ उपमेयर कार्कीले भनिन्, ‘मिल्नेसम्मलाई मिलापत्र गराएका छौं, कानुनले नदिने र धेरै प्रयास गर्दा पनि नमिल्ने उजुरीहरूलाई भने न्यायिक निरुपणका लागि अदालतमा पठाइसकेका छौं ।’

आर्थिक वर्ष २०७८-७९ मा भने कूल २१० वटा उजुरी दर्ता भएकोमा १७५ वटा उजुरीको निर्णय भएको जनाइएको छ ।


Author

थप समाचार
x