कोशी

काेशी सरकार गठन विवादकाे फैसला आज आउन सक्ने

इकागज |
साउन ११, २०८० बिहीबार १०:१२ बजे

काठमाडाैं । कोशी प्रदेश सरकार गठन प्रक्रियासम्बन्धी रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासले आज अन्तिम फैसला दिन सक्नेछ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको बहस बुधबार हेर्दाहेर्दैमा  सकिएको थियाे ।

बुधबार सर्वोच्चका न्यायाधीशहरु इश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले रिट निवेदनमाथि दुवैतर्फको बहस सकिएका कारण  फैसलाका लागि बिहीबारलाई हेर्दाहेर्दैमा राखेका थिए। बुधबार रिट निवेदनका प्रत्यार्थीहरुको तर्फबाट १३ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए । उनीहरुको बहसपछि निवेदकको तर्फका कानुन व्यवसायीहरुले पनि जवाफी बहस सकेका छन् ।


कोशी प्रदेश सरकार गठनको दाबी पत्रमा सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेपछि गम्भीर संवैधानिक र प्रक्रियागत प्रश्न उठाउँदै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा असार २२ मा रिट निवेदन दायर गरेका थिए । 

२०८० असार २१ मा कोशी प्रदेशका प्रदेश प्रमुख खापुङ्गले प्रदेश सभाका सभामुख गौतमको समेत हस्ताक्षरमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सरकार गठनमा सभामुखले समेत हस्ताक्षर गरेर संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको सरकार गठनका लागि थापाले दाबी पेश गरेको बिषयलाई लिएर एमाले संसदीय दलका नेता कार्कीले रिट दायर गरेका थिए । 

सभामुखको समेत हस्ताक्षरमा ९३ सदस्यीय कोशी प्रदेश सभाको बहुमत संख्या ४७ पुर्‍याएर दाबी पेश गरेको आधारमा प्रदेश प्रमुख खापुङ्गले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । कार्कीले भने थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय उत्प्रेषण आदेशबाट बदर गरी संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभाको सवैभन्दा ठूलो दलको नेताको नेतृत्वमा सरकार गठनको माग गर्दै परामादेश माग गरेका थिए । 


Author

थप समाचार
x