कोशी

परमादेशले तोकिदिएको भन्दा एक दिन अगावै सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

इकागज |
साउन १२, २०८० शुक्रबार १५:७ बजे

विराटनगर- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले साउन १६ गते बेलुका ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुखले शुक्रबार दिउँसो प्रेस विज्ञप्तिमार्फत साउन १६ गते मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमतको सरकारको दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन् ।


बिहीबारमात्रै सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्रीमा उद्धव थापाको सरकारलाई अवैधानिक घोषणा गर्दै सरकार गठनको सबै प्रक्रिया खारेज गरिदिएको थियो ।

सर्वोच्चले साउन १७ गतेभित्र अर्को सरकार गठनको प्रक्रिया पूरा गर्न परमादेश जारी गरेको थियो । प्रदेश प्रमुख खापुङ्गले सर्वोच्चको परमादेशले तोकिदिएको मिति अगावै सरकार गठनको बाटो खोलेका हुन् ।

धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरिएको हो ।

 


Author

थप समाचार
x