कोशी

कोशीमा सरकार निर्माण संकट : राजेन्द्र लिङ्देन भन्छन्- १६८ को (५) तिर पुगेपछि उपयुक्त निर्णय लिन्छौँ

इकागज |
साउन १६, २०८० मंगलबार १२:६ बजे

विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा अहिलेकै अवस्थामा सरकार गठनको प्रक्रियामा खास चासो नभएको बताएका छन् । मङ्गलबार विराटनगर बिमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै लिङ्देनले संविधानको धारा १६८ को उपधारा (३) मा पुगेपछि मात्रै राप्रपाले उपयुक्त निर्णय लिने बताएका हुन् ।

संविधानको धारा १६८ को उपधारा (५) मा प्रदेश सभाको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्ने अवस्थामा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । अहिलेको अवस्थामा कोशी प्रदेशमा काङ्ग्रेस र एमालेले सरकार बनाएर प्रदेशलाई स्थिरता दिनसक्ने अवस्था रहेकोले आफुले त्यही सुझाव बालुवाटारमा सत्ता गठबन्धनसंगको छलफलमा दिएको बताए ।


'अहिलेको सरकार निर्माणमा राप्रपाको खास चासो छैन, कांगेस-एमाले मिलेर सरकार चलाउनुहोस भनेका छौं' लिङ्देनले भने- 'हामी त जब उपधारा (५) तिर पुग्छ, बीचमा कुनै समाधान निस्किएन भने जिम्मेवार दलको नाताले हामी निर्णायक देखियौँ भने पार्टीको बैठक बसेर उपयुक्त निर्णय लिन्छौं ।'

लिङ्देनले प्रदेशको संरचना अनुसारको सरकार निर्माणको प्रक्रिया अघि बढ्नुपर्ने बताए । उनले सरकार निर्माणमा कुनैपनि जालझेल नगर्न चेतावनी दिए ।

'अस्तिपनि सभामुखलाई हस्ताक्षर गराएर जालझेल भयो, अब राजिनामा गराउने काम नगर्नुहोस्' लिङ्देनले भने- 'तपाईंहरूले ल्याएको व्यवस्था तपाईंहरूकै कारण संकटमा पर्छ, सभामुखले राजीनामा दिने बितिक्कै प्रदेश जटिलतामा जान्छ, जसरी पनि सत्ता लिनुपर्छ भन्ने ढंगले अघि नबढौं ।'


Author

थप समाचार
x