कोशी

नयाँ सरकार गठनको प्रारम्भमै सत्ताको फोहोरी खेल सुरु भयो : कार्की

इकागज |
साउन १८, २०८० बिहीबार १५:१६ बजे

विराटनगर- नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नयाँ सरकार गठनको प्रारम्भसँगै कोशी प्रदेशमा सत्ताका लागि फोहोरी खेल सुरु भएको टिप्पणी गरेका छन् । दोस्रो आम निर्वाचनपछि २०७९ पुस २४ मा पहिलो सरकारको नेतृत्व सम्हालेर असार १५ मा पदमुक्त भएका कार्कीले त्यसका सरकार गठनका क्रममा भएका असंवैधानिक कार्यमा प्रदेश प्रमुखबाटै संविधानको उल्लंघन भएको आरोप लगाएका हुन् ।

बिहीबार संसदीय दलको नेताको तर्फबाट विज्ञप्ति जारी गर्दै निवर्तमान मुख्यमन्त्री कार्कीले सरकार निर्माणमा सभामुखको कुनै भूमिका नरहने संवैधानिक व्यवस्था प्रस्ट हुँदाहुँदै पनि संविधानको ठाडो उल्लंघन गरी सरकार निर्माण भएको र सभामुखको सहभागितालाई कोशी प्रदेश प्रमुखको कार्यालयले समेत मान्यता दिनु संविधानविपरीत भएको बताए ।


उनले व्यवस्थापिका प्रमुखबाट भएको पहिलो गल्तीलाई प्रदेश प्रमुखको कार्यालयले सच्याउनुको साटो सदर गर्दै जान थालेपछि आफूले उक्त असंवैधानिक कार्यका विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गर्नुपरेको प्रष्टीकरण दिएका हुन् ।

‘नयाँ सरकार गठनको प्रारम्भसँगै कोशी प्रदेशमा सत्ताका फोहोरी खेलहरू सुरु भए, सरकार निर्माणमा सभामुखको कुनै भूमिका नरहने संवैधानिक व्यवस्था प्रस्ट हुँदाहुँदै पनि संविधानको ठाडो उल्लंघन गरी सरकार निर्माणमा सभामुखको सहभागितालाई कोशी प्रदेश प्रमुखको कार्यालयले मान्यता दिने काम भयो,’ विज्ञप्तिमार्फत कार्कीले भने, ‘असंवैधानिक तरिकाले कोशी प्रदेशमा सरकार गठन गर्ने काम भयो, प्रदेश प्रमुखको यस्तो असंवैधानिक कार्यको विरुद्ध मैले सर्वाेच्च अदालतमा रिट दायर गरेँ, जसलाई सर्वाेच्च अदालतको साउन ११ गतेको फैसलामार्फत सच्याउने काम भइसकेको छ ।’

उनले अघिल्लो पाँच वर्षे कार्यकालमा प्रदेशको नामकरण नहुँदा जनस्तरमै प्रदेश संरचना र प्रदेश सरकारप्रति नकारात्मक टीकाटिप्पणी भएकोले प्रदेशको नामकरण गरेर प्रदेश संरचनाप्रति जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको दाबी गरेका छन् । कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकबाटै मन्त्रालयहरूको संख्या कटौती गर्दै १३ वटाबाट घटाएर ९ वटा कायम गरेको, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन गरी काम गरेको दाबी गरे ।

आफूले संविधानको मर्म र भावना अनुरुप संघीयताको प्रभावकारी कार्यान्वयन तथा प्रदेश संरचनाहरूलाई संस्थागत रुपमा अगाडि बढाउन आवश्यक ऐन, कानुन तथा नियमावलीहरू निर्माण गर्ने कामको थालनी गरेको पनि उनले बताएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९-८० मा सरकारको पुँजीगत खर्चतर्फ ८४ दशमलव ४४ प्रतिशतको वित्तीय प्रगति हासिल भएको बताए । जसले कोशी प्रदेश सरकारको कार्यसम्पादनको प्रभावकारितालाई पुष्टि गरेको दाबी गरे । अघिल्लो सरकारका पालामा देखिएका आर्थिक एवं वित्तीय अराजकतालाई नियन्त्रण गर्ने प्रयासहरू समेत गरेको बताए ।

फरक राजनीतिक गठबन्धनको केन्द्रीय सरकारले आफूलाई पटक–पटकको असहयोग गरेको र त्यसका बाबजुद पनि कोशी प्रदेश भित्रको राजनीतिक शक्ति सन्तुलनका आधारमा निर्माण भएको चार दलीय गठबन्धनलाई आफूले अघि बढाएको उनले बताए ।

नेता कार्कीले सर्वाेच्च अदालतको सोही फैसलाको आधारमा साउन १६ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाको सरकारले जनअपेक्षा अनुसारका काम गर्नेमा आफू विश्वस्त रहेको भन्दै शुभकामना समेत दिएका छन् ।


Author

थप समाचार
x