कोशी

युवा सांसदलाई राखेर विराटनगरका उद्योगी व्यवसायीले सोधे : सानो गल्तीमै ‘थुन्ने कि सुन्ने ?’

इकागज |
साउन १९, २०८० शुक्रबार २२:१ बजे

विराटनगर- उद्योग व्यवसाय सञ्चालनका क्रममा सानातिना गल्तीहरूमा पनि सरकारले विभिन्न बहाना बनाएर पक्राउ गर्ने र उद्योगीहरूलाई हतोत्साहित गर्ने काम गरेको भन्दै त्यसका विरुद्ध विराटनगरका उद्योगी व्यवसायीले ‘थुन्ने कि सुन्ने’ भन्दै प्रश्न उठाएका छन् ।

केही घटनाहरूमा नाम जोडिने बितिक्कै उद्योगी व्यवसायीहरूलाई मात्रै पक्राउ गर्ने तर नीतिगत निर्णय गर्ने राजनीतिक दलका नेताहरूमाथि केही कारबाही नभएको भन्दै उद्योगी व्यवसायीहरूले बहस सुरु गरेका हुन् । शुक्रबार विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा उद्योगी व्यवसायीहरूले प्रमुख राजनीतिक दलसम्बद्ध युवा नेताहरूलाई राखेर बहसको थालनी गरेका छन् ।


नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल, नेकपा एमालेका एलपी सावा लिम्बू, माओवादी केन्द्रका माधव सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झालाई राखेर उद्योगी व्यवसायीहरूले आफ्नो पीर मर्का सुनाए । 

संगठनका अध्यक्ष राकेश सुरनाले निजी क्षेत्रलाई राज्यबाट अनावश्यक रूपमा त्रास सिर्जना गर्ने गरेको बताए । सरकारका अनेकौं खालका नीति र नियमका कारण उद्योगीहरू लगानी बढाउन उत्साहित नदेखिएको अनुभव सुनाए । बढ्यो युवा पलायनपनि सरकारकै नीतिका कारण सिर्जना भएको भन्दै कानुनलाई सहज बनाउँदै स्वदेशमै उद्योग व्यवसायलाई प्रवर्द्धन गर्नुपर्ने उनले सुझाव दिए । 

काम गर्दै जाँदा भएका गल्ती कमजोरीलाई सच्याउने ठाउँ दिनुको साटो सरकारका निकायहरूले उद्योगीहरूलाई अपराधी सरह व्यवहार गर्दै धरपकड समेत गरिरहेको गुनासो गरे । सुरनाले आरोपकै भरमा उद्योगी व्यवसायीहरू अपराधीजस्तो थुनिनुपर्ने अवस्थाको अन्त्य गर्न युवा सांसदहरूमार्फत सरकार र संसदमा लविङ गर्नुपरेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले आयातमुखी अर्थतन्त्रमा मात्रै भर परेर देशको विकास नहुने बताए । उनले निजी क्षेत्रमैत्री, विदेशी लगानीमैत्री नीति बनाउन आफूहरूले भूमिका खेल्ने प्रतिबद्धता जनाए । त्यसका लागि भएका कानुनलाई सुधार गर्दै जाने र उद्योगी व्यवसायीहरूलाई लगानीमैत्री वातावरण तयार पार्ने नेता पौडेलले प्रतिबद्धता जनाए ।

नेकपा एमालेका सांसद एलपी साँवा लिम्बुले नेपालमा अर्थतन्त्रको आकार ५३ अर्ब ८१ अर्ब भएकोमा ४३ खर्ब ८८ अर्बको योगदान निजी क्षेत्रकै रहेको बताए । यस्तो आर्थिक अवस्थामा सरकारले निजी क्षेत्रलाई उपेक्षा गरेर जानै नसक्ने बताए ।

उद्योगधन्दा चलाउने निजी क्षेत्रलाई राजनीतिक क्षेत्रबाट हेर्ने दृष्टिकोण नै गलत रहेको बताए । उनले उद्योगी व्यवसायीलाई संरक्षण गर्नुपर्नेमा उल्टो हतोत्साहित बनाउने नीति परिवर्तन गर्नु आवश्यक रहेको नेता साँवाले बताए । तर, निजी क्षेत्र पनि बढी मुनाफामुखी हुन नहुने उनले सुझाव दिए ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राजनीतिक आन्दोलनलाई मात्रै उपलब्धि मान्दा आर्थिक क्षेत्र ओझेलमा परेको बताए । उनले मुलुकको भ्रष्टाचार र बेथिति अन्त्य गर्दै आर्थिक विकासको चरणमा प्रवेश गर्नुपर्ने धारणा राखेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजनीतिक अस्थिरताको सिकार नै निजी क्षेत्र भएको बताए । आफू पनि कुनै न कुनै रूपमा उद्यमशील रहेको उदाहरण दिँदै झाले निजी क्षेत्रलाई सधैंभरी चन्दा दिने स्रोत मान्ने राजनीतिक दृष्टिकोण फेर्न निजी क्षेत्रले पनि अब फरक ढंगले सोच्नुपर्ने बताए ।

मुलुकको शासन व्यवस्थाले सबै कुरा सिंहदरबार केन्द्रित गर्दा समेत आर्थिक क्षेत्रको विकासमा केन्द्रित जटिलता हट्न नसकेको उनले दाबी गरेका थिए ।

कार्यक्रममा सहभागी नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजालसहित युवा उद्योगी व्यवसायीहरू, ढुवानी व्यवसायी, ट्रक व्यवसायी लगायत निजी क्षेत्र सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x