कोशी

काेशी सरकारलाई अझै गणितको समस्या छः मुख्यमन्त्री थापा

इकागज |
साउन २२, २०८० सोमबार १३:४० बजे

विराटनगर । मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेश सरकारलाई अझै पनि गणितीय समस्या रहेको बताएका छन् । उनले दलहरुबीच सहमति हुन नसक्दा अहिले पनि सरकार ‘टेककेयरिङ’ कै अवस्थामा रहेको बताएका हुन् । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री थापाले सोमबार सोही मन्त्रालयले आयोजना गरेको दमकल र पिकअप भ्यान हस्तान्तरण कार्यक्रममा बोल्दै गणितीय समस्याकै कारण सरकारले पूर्णता पाउन नसकेको स्वीकार पनि गरेका छन् । 


‘सरकार टेककेयरिङ अवस्थामा मै छ, पूर्णता दिन बाँकी छ, त्यहि भएर अझै केही मन्त्रालयहरु मेरै मातहतमा रहेका छन्’ मुख्यमन्त्री थापाले भने, ‘कोशी प्रदेशमा प्रदेशमा पटक–पटक सरकार बन्ने र गिर्ने अवस्था छ, हामीलाई पनि अझै गणीतको समस्या छ, यसको अन्त्यका लागि दलहरुबीच जिम्मेवार बन्नुपर्दछ ।’

मुख्यमन्त्री थापाले राजनीतिक तरलता अन्त्य गर्नका लागि सबै दलहरुले मिलेर सरकार बनाएर अघि बढ्नुपर्ने धारणा राखेका हुन् । उनले सरकार बन्ने र ढल्ने मात्रै अवस्था बने जनतालाई दिनुपर्ने सेवा प्रवाहमा उल्झन उत्पन्न हुने बताए ।

थापाले कोशी प्रदेशमा विपद् व्यवस्थापन कार्यक्रम अन्तर्गत जनतासँग सरकारलाई जोड्न सहयोग पुगोस् भनेर पालिकालाई दमकल र पिकअप भ्यान प्रदान गरिएको बताए । उनले दमकलले पहाडी क्षेत्रमा हुने लागलागी नियन्त्रणमा सहयोग गर्ने र पिकअप भ्यानले राहत सामग्रीको ढुवानी र अन्य सेवा प्रवाहमा सहज हुने दाबी गरे ।

मुख्यमन्त्री थापाले मन्त्रालयले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यक्रम अन्तर्गत अघिल्लो आर्थिक बर्षमा ताप्लेजुङको फुङलिङ नगरपालिका र सोलखुम्बुको सोताङ गाउँपालिकालाई वितरणका लागि खरिद गरेको एक–एक थान दमकल र पिकअप भ्यान मध्ये फुङलिङको दमकल र पिकअप भ्यान त्यहाँका मेयर अमिर मादेन र उपमेयर भिमादेवी ओझालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । सोताङका लागि किनिएको दमकल र पिकअप भने यसअघि नै वितरण भइसकेको मन्त्रालयका प्रवक्ता उपसचिव अर्जुन निरौलाले जानकारी दिए । 

भ्याट बाहेक ७३ लाख ५० हजार रुपैयाँका दरले खरिद गरिएको युरो–४ स्ट्याण्डर्डका दमकलमा तीन हजार लिटर पानी अट्ने जनाइएको छ । त्यस्तै ३७ लाख ५० हजार रुपैयाँका दरले २०७७ असार मै खरिद गरिएको पिकअप भ्यान भने मन्त्रालयले वितरण नगरी राखेको थियो । दमकल र पिकअप भ्यान मन्त्रालयले इबिडिङको प्रक्रियाबाट खरिद गरेको प्रवक्ता निरौलाले बताए ।

एक जिल्ला एउटा केन्द्र तोकेर कोशी प्रदेशका १४ वटा जिल्लामा स्थापना गरिएको मुख्यमन्त्री अत्यावश्यक केन्द्र कार्यक्रम अन्तर्गत सोताङ गाउँपालिका र फुङलिङ नगरपालिकालाई हस्तान्तरण गर्न ठिक्क पारेको दमकल तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विराटनगर महानगरपालिका र सुनसरीको देवानगञ्ज गाउँपालिकालाई दिएका थिए । त्यसपछि मन्त्रालयले पुनः दुई थान दमकल खरिद गरेर पहिलेकै निर्णय अनुसारका पालिकालाई दमकल र पिकअप भ्यान हस्तान्तरण गरेको हो ।

मन्त्रालयका योजना तथा प्रशासन शाखा प्रमुख चुडामणि गुरागाँईले अत्यावश्यक केन्द्रको पछिल्लो अवधारणा अनुसार झापाको अर्जूनधारा नगरपालिकालाई केन्द्र पारेर दमकल, शववाहन र पिकअप भ्यानसहितको सेवा केन्द्र स्थापनाको प्रक्रियामा रहेको जानकारी दिए । उक्त केन्द्रबाट झापाको कनकाई नगरपालिका, विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिका समेतलाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी सेवा दिइने जनाइएको छ । त्यसका लागि प्रदेश सरकारबाट ५० प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत प्रदेश सहयोग कार्यक्रमबाट २० प्रतिशत र बाँकी ३० प्रतिशत सम्बन्धित पालिकाहरुले व्यहोर्ने गरी निर्माण भइरहेको उनले बताए ।


Author

थप समाचार
x