पूर्वउपसभामुख पोखरेलले मासिक आठ हजार पाउने गरी थालिन् शिक्षण
विराटनगर- कोशी प्रदेशको पहिलो पाँच वर्षे कार्यकालकी उपसभामुख सरस्वती पोखरेलले सरकारी विद्यालयमा शिक्षण पेसा सुरू गरेकी छन् । उनी एक साताअघि सुनसरीको इटहरीस्थित जनता माध्यमिक विद्यालयमा सामाजिक विषय शिक्षकमा नियुक्त भएकी हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालका अनुसार समाजशास्त्रमा स्नातकोत्तर गरेको शैक्षिक योग्यता भएको र उनले अध्यापनका लागि इच्छा राखेपछि विद्यालयले हाललाई दैनिक ज्यालादारीमा एक घण्टी पढाउने गरी नियुक्त गरेको बताए । विद्यालयमा अहिले कक्षा ११ मा करिब सात सय विद्यार्थी भर्ना भइसकेको जनाइएको छ । पूर्व उपसभामुख पोखरेलले एउटा सेक्सनमा दैनिक एक घण्टी पढाउने दंगालले जानकारी दिए । त्यसबापत पोखरेलले मासिक ८ हजार रूपैयाँ पाउने पाउने जनाइएको छ ।
‘उहाँले इच्छा राख्नु भएकोले हामीले पनि खुसीका साथ कक्षा ११ को सामाजिक विषयको एक घण्टी उपलब्ध गराएका छौं’ विव्यस अध्यक्ष दंगालले भने, ‘निजी विद्यालयहरूले पनि बोलाएको तर उहाँले सरकारी विद्यालयमै इच्छा गरेको कुरा सुनाउनु भयो, हामीले पनि प्रदेशकै महत्वपूर्ण जिम्मेवारी पूरा गर्नु भएको उहाँलाई शिक्षकका रुपमा पाउँदा समय उपलब्ध गराएका छौं ।’
पोखरेलले पढाउन इच्छा व्यक्त गरे आगामी वर्षदेखि घण्टी थपिंदै लैजाने पनि बताए । पोखरेलले समाजशास्त्रका साथै अंग्रेजी विषयमा पनि स्नातकोत्तर गरेकी छन् । उनले जनयुद्धकालमा भूमिगत हुनुअघिसम्म निजी विद्यालयमा अंग्रेजी विषयकै शिक्षिका रहेको बताइन् ।
‘राजनीतिमात्रै भन्दा पनि आत्मनिर्भर राजनीतिक गर्नुपर्छ भन्ने मेरो बुझाइ छ’ पोखरेलले भनिन्, ‘राजनीतिलाई व्यवसाय बनाउनेको संख्या धेरै छ, भूमिगत हुनुभन्दा पहिला पनि शिक्षण नै गरेकोले अहिले पनि यतै मन लागेकोले इच्छा व्यक्त गरेकी थिएँ, विद्यार्थी भर्ना चलिरहेकोले भर्खरै विद्यालय जान थालेको छु, बिस्तारै अध्यापनमा लाग्नेछु ।’
आफूले जनयुद्धकालमै समाजशास्त्रमा स्नातकोत्तर सकेको पूर्व उपसभामुख पोखरेलले जानकारी दिइन् । साथै प्रदेश सभाको उपसभामुख निर्वाचित भएपछि राजनीति शास्त्रमा समेत स्नातकोत्तर गरेको र हाल एलएलबीको अध्ययन जारी राखेको बताइन् ।
तत्कालीन प्रदेश १ (हाल कोशी प्रदेश) को उपसभामुखको कार्यकाल सकिएपछि पोखरेल गत प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट सुनसरीको क्षेत्र नं ३ (१) मा चुनाव लडेकी थिइन् । तर उनी पराजित भइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया