कोशी

संखुवासभाका दलको संयुक्त विज्ञप्ति

‘बन्दीगृहभित्रै बन्दीको ज्यान जानु मानवअधिकारमाथिको प्रहार’

इकागज |
साउन २५, २०८० बिहीबार १३:१९ बजे

विराटनगर । जिल्ला कारागार संखुवासभाको शौचालयको रड काटेर भाग्न खोज्ने दुईजना कैदीलाई पुनः पक्राउ गरी कारागारभित्रै पठाइएको र उनीहरुको अन्य कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको भन्दै स्थानीय प्रशासनको भनाइप्रति राजनीतिक दलहरुले आशंका व्यक्त गरेका छन् । 

कैद भुक्तान गरिरहेका दुई कैदीको कारागार प्रशासनकै संलग्नतामा कुटपिटबाट मृत्यु भएको उनीहरुले आरोप लगाएका छन् । बुधबार बिहान करिब दुई बजेतिर कारागारको शौचालयको भेन्टिलेशनको रड काटेर भाग्न लागेको अवस्थामा पक्राउ परेका नुवाकोटको ककनी–७ का २७ वर्षीय आकाश बलामी र संखुवासभाकै मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगीको अन्य कैदीबन्दीहरुको कुटपिटबाट मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताएका छन् ।


प्रहरीले पक्राउ गरी पुनः कारागारभित्रै पठाएका कैदीहरु बिहान करीव चार बजे गम्भीर घाइते अवस्थामा भेटिएको भन्दै उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

उनले घटनाको छानबिनका लागि जिल्ला र केन्द्रीयस्तरमा छानबिन समिति समेत गठन भएपनि संखुवासभाका राजनीतिक दलहरुले भने दुवै कैदीको मृत्यु शंकास्पद भएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

राजनीतिक दलहरुले बिहीबार संयुक्त विज्ञप्ति निकाल्दै घटना अप्रत्याशित र रहस्यमय रहेको बताएका हुन् । कारागारमा विगतमा पनि अप्रिय र गैरकानुनी गतिविधि भएको भन्दै दलहरुले आरोप लगाएका छन् । बुधबारको घटनाले कारागार व्यवस्थापनको कमजोरी सतहमा आएको भन्दै यस्ता घटना दोहोरिन नदिन कारागार व्यवस्थापनको थप सुधारको माग गरेका छन् ।

‘जिल्लाको कारागारभित्र दुईजना कैदीबन्दीको मृत्यु भएको घटनामा संखुवासभा जिल्लाका राजनीतिक दलहरुको गम्भिर ध्यानकर्षण भएको छ, बन्दीगृहभित्रै ज्यान जाने गरी भएको घटना मानवअधिकारमाथिको प्रहार हो’ विज्ञप्तिमा भनिएको छ, ‘अप्रत्याशित र रहस्यमय घटना जनचासो र जनसरोकारको विषय भएकाले निश्पक्ष छानविन गरी सत्यतथ्य विवरण सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’

विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य समेत रहेका संखुवासभा कांग्रेस सभापति दिपक खड्का, नेकपा एमालेका जिल्ला अध्यक्ष जीतबहादुर घिमिरे, नेकपा समाजवादीका केन्द्रीय सदस्य हेमराज घिमिरे, नेकपा माओवादीका जिल्ला संयोजक टेकमान राई, राप्रपाका सचिव रमोद श्रेष्ठ, जनता समाजवादी संघीय परिषद् सदस्य सिताराम तिम्सिना लगायतले हस्ताक्षर गरेका छन् ।

उनीहरुले घटनाको छानबिनका लागि गठित समितिहरुलाई निष्पक्ष छानबिनमा सघाउ पुर्याउने, सत्यतथ्य घटना बाहिर ल्याउने, अनुसन्धानलाई प्रभावकारी बनाउने र समितिको कामकार्वाहीलाई निगरानी गर्न भन्दै नेकपा समाजवादीका केन्द्रीय सदस्य हेमराज घिमिरेको संयोजक रहेको कार्यदल समेत गठन गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

जिल्ला कारागार संखुवासभामा हाल १३८ जना कैदीबन्दीहरु रहेका छन् । घटनापछि केही कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ । स्थानीय प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।


Author

थप समाचार
x