कोशी

जसपाकी सांसद लिम्बु आज मन्त्री बन्दै

इकागज |
साउन २६, २०८० शुक्रबार १२:२२ बजे

विराटनगर- कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी हुने भएको छ । मुख्यमन्त्री उद्वव थापाले जसपाबाट सांसद निर्मला लिम्बुले आजै अपरान्ह ३ बजे मन्त्री पदको सपथ लिने जानकारी दिए ।

उनलाई यसअघि सम्हालेकै स्वास्थ मन्त्रालयको जिम्मेवारी तोकिनेसमेत मुख्यमन्त्री थापाले बताए ।


कोशी प्रदेश सभामा जसपाको एक सिट रहेको छ । तत्कालिन नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वको सरकारमा पनि लिम्बू स्वास्थ्यमन्त्री बनेकी थिइन् ।

उनले सरकारले पहिचानको आन्दोलनलाई बेवास्ता गरेको र पार्टीभित्रबाटै असहयोग भएको भन्दै पत्रकार सम्मेलन गरेर मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

जसपाले कोशी प्रदेश खारेज गरेर प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आएको छ ।

सांसद लिम्बुले थापा नेतृत्वको सरकार गठन हुँदा समर्थन जनाउने क्रममा पुनः नामकरणको मुद्दामा मुख्यमन्त्री थापाले लिखित प्रतिवद्धता नजनाएसम्म जसपाले विश्वासको मत नदिने चेतावनी दिएकी थिइन् । 

मुख्यमन्त्री थापाले शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को  कार्यालयमा पत्रकार सम्मेलन गर्दै नामाकरणमा असन्तुष्ट पक्षहरूले उठाएका जायज माग र मुद्दाहरूलाई सम्बोधन प्रदेश सरकार तत्पर रहेको प्रतिवद्धता जनाएका हुन् ।

तत्कालीन प्रदेश १ लाई नामाकरण गर्नैपर्ने संवैधानिक, राजनीतिक र नैतिक आवश्यकताले बाँधिएको भन्दै २०७९ फागुन १७ गतेको प्रदेश सभा बैठकले कोशी प्रदेश नामाकरण गरेको मुख्यमन्त्री थापाले प्रष्टिकरण दिए ।
उनले चाँडै विश्वासको मत लिने पनि जानकारी दिए ।


Author

थप समाचार
x