कोशीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने
प्रदेश सभा सचिवालयमा दर्ता भयो सूचना
विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिन चाहेको पत्र शुक्रबार प्रदेश सचिवालयमा दर्ता गरेका हुन् । मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त प्रस्ताव पेश गर्ने सूचना प्राप्त भएको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।
सूचनामा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री थापाले उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेकोले साउन ३ गतेको कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा नियमावलीको नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धि सूचना दिएको उल्लेख छ ।
९३ सदस्यीय कोशी प्रदेश सभामा सत्ता गठबन्धनले तत्कालिन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएपछि मुख्यमन्त्री थापाले सरकार गठनमा बहुमत प्राप्त गरेका थिए । तर त्यो बहुमत संख्या ४७ मात्रै भएको र एमालेबाट निर्वाचित भएकी उपसभामुख सृजना दनुवारले समेत राजीनामा दिनसक्ने सम्भावना कायम रहेका कारण मुख्यमन्त्री थापा संकटमा छन् ।
सुविधाजनक बहुमतको अभावमा मुख्यमन्त्री थापाले विश्वासको मतलाई लक्षित गर्दै ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरिसकेका छन् ।
साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभा नियमावलीको नियम १२८ को उपनियम (१) मा विश्वासको मत सम्बन्धि व्यवस्थामा संविधानको धारा १६८ को उपधारा (२) वा (३) बमोजिम मुख्यमन्त्रीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्ने सूचना सचिवलाई दिनु पर्ने उल्लेख छ ।
उपनियम (२) मा उपनियम (१) बमोजिम दिइने सूचना प्रस्तावमाथि छलफल हुने दिनभन्दा दुई दिन अगावै दिनु पर्ने पनि उल्लेख छ । उपनियम (३) मा उपनियम (१) बमोजिमको सूचना प्राप्त भएपछि सचिवले सभामुखसमक्ष पेश गर्ने र सभामुखले बैठकमा प्रस्ताव पेश गर्ने दिन र समय तोक्ने स्पष्ट व्यवस्था रहेको छ । यो व्यवस्था अन्तरगत मुख्यमन्त्री थापाले शुक्रबार विश्वासको मत लिने सूचना दिएका हुन् ।
उपसभामुख दनुवारले आइतबारको बैठक चलाइदिए मात्रै थापालाई विश्वासको मत लिन सहज हुनेछ । तर एमालेले पनि थापा नेतृत्वको सरकार ढाल्न रणनीति अपनाउने तयारीमा छ । एमालेले उपसभामुखलाई आइतबारको बैठकमा अनुपस्थित गराउन सक्ने सम्भावना कायमै छ । अनुपस्थित गराउँदा आलोचना हुने अवस्थामा राजीनामासमेत गराउन सक्ने चर्चा पनि जारी छ । सरकारले विश्वासको मत लिने प्रक्रियालाई जसरी अगाडि बढाउँछ त्यसैगरी अघि बढ्ने एमालेको तयारी रहेको संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बताएका छन् ।
‘यो सरकारले विश्वासको मत प्राप्त गर्नसक्ने आधार देखिएको छैन’ रणनीतिको संकेत गर्दै कार्कीले भने, ‘धारा १६८ को उपधारा (२) बमोजिमको सरकार टिक्ने अवस्था छैन, अर्को व्यवस्थाको अभ्यासमा जानु एमालेले उचित ठानेको छ ।’
कोशी प्रदेशमा अहिले सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीको १ सिट गरी ४७ सिट कायम छ । ४७ सिट सहुलियत बहुमत भने होइन । विपक्षीमा एमाले र राप्रपा छन् । एमालेसँग उपसभामुखसहित ४० र राप्रपासँग ६ सिट रहेको छ । एक सिटमात्रै कम हुँदा थापाको सरकार ढल्ने निश्चित छ । यसअघि हिक्मत कार्की नेतृत्वको सरकार पनि एक सिटकै अभावमा ढलेको थियो ।
मुख्यमन्त्री थापाले भने संविधान अनुसार विश्वासको मत लिन आफु तयार रहेको बताएका छन् । तर उनको भनाई अनुसारमात्रै विश्वासको मत लिन सहज भने छैन । राप्रपालाई निकट बनाउने कांग्रेसको प्रयास असफलसिद्ध हुँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया