कोशी

कोशीका मुख्यमन्त्री थापाले एमालेसँग मागे विश्वासको मत

इकागज |
भदौ ३, २०८० आइतबार १६:५६ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग विश्वासको मत दिन आग्रह गरेका छन् । मुख्यमन्त्री थापाले सोमबार अपरान्ह १ बजे बोलाइएको प्रदेश सभा बैठकमा आफूलाई विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री थापाले हस्ताक्षर गरेको पत्र नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीलाई बुझाएका छन् । राईले प्रदेश सभामा मुख्यमन्त्रीको तर्फबाट विश्वासको मत माग्ने पत्र बुझाएको बताएका हुन् ।


‘हामीले प्रतिपक्षमा रहेको नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विश्वासको मत माग्दै पत्र दिएका हौं,’ कांग्रेस प्रमुख सचेतक राईले भने, ‘एमालेलाई बुझाइसकेका छौं, राप्रपाका दलका नेता बाहिर रहेको भन्ने जानकारी आएकोले उहाँहरूका सदस्यलाई पनि पत्र दिने प्रयासमा छौं ।’

एमाले संसदीय दलका नेता एवं तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि अघिल्लो पटक असार १४ गते तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसलाई विश्वासको मत माग्दै लिखित पत्र बुझाएका थिए ।

९३ सदस्यीय कोशी प्रदेश सभामा सत्ता गठबन्धनलाई ४७ सांसदको समर्थन छ । नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद रहेका छन् । मुख्यमन्त्री थापालाई प्रदेश सभाबाट सहुलियत रूपमा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको मात्रै समर्थन जोखिमपूर्ण संख्या हो ।

प्रतिपक्षमा रहेको नेकपा एमालेसँग उपसभामुखबाहेक ३९ र राप्रपासँग ६ सांसद रहेका छन् । उपसभामुख दनुवार एमालेबाट निर्वाचित भएकोले उनलाई पार्टीले दबाब दिएर पदबाट राजीनामा गराए सोमबारको प्रदेश सभा बैठक सञ्चालनको प्रक्रिया नै अन्योलमा पुग्ने छ । 

उपसभामुख दनुवारले राजीनामा दिए एमाले र राप्रपाले आफ्ना तर्फका ज्येष्ठ सदस्यहरूलाई समेत प्रदेश सभा बैठकमा अनुपस्थित गराउने रणनीतिमा केन्द्रित रहेको जनाइएको छ ।


Author

थप समाचार
x