कोशी

काेशीका मुख्यमन्त्रीले भने-आज विश्वासको मत लिने सम्भावना देखिएन

इकागज |
भदौ ४, २०८० सोमबार १३:१९ बजे

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेश सभाबाट विश्वासको मत लिने सम्भावना नदेखिएको बताएका छन् । उपसभामुख सृजना दनुवार आकस्मिक विरामी भएको भन्दै सोमबार बिहान बोलाइएको कार्यव्यवस्था समितिको बैठक छाडेर काठमाडौ गएपछि प्रदेश सभामा उनले विश्वासको मत लिने कार्य अनिश्चित बनेको थियो ।

विराटनगरको होटल इष्टर्न स्टारमा बसेको सत्ता गठबन्धन दलको बैठकपछि बोल्दै मुख्यमन्त्री थापाले उपसभामुखले बैठक बोलाएर अनुपस्थित भएको कुरा जानकारीमा आएको बताए । 


'आजको दिनमा विश्वासको मत लिने सम्भावना देखिएन' मुख्यमन्त्री थापाले भने- 'अब सल्लाह गरेर अर्को दिनलाई निश्चत गरेर विश्वासको मत लिने काम गर्छौं ।'
सरकारले विश्वासको मत लिने कुरामा कसैसँग सल्लाह गर्नु नपर्ने भएपनि आफुले प्रमुख प्रतिपक्षसंग समेत सल्लाह गरेर मिति तय गरेको मुख्यमन्त्री थापाले बताए ।
उनले प्रतिपक्षमा रहेका दलले सल्लाह गर्दा एउटा कुरा गर्ने तर गर्ने बेलामा अर्को गर्ने गरेको आरोप लगाए ।

उपसभामुख दनुवार कसको निर्देशनमा अनुपस्थित भएको हो भन्ने कुरा वहाँले नै जान्ने विषय भएको टिप्पणी गरे । 'तर उपसभामुखको आजको काम सरासर गलत हो, वहाँले संसदीय परम्परा तोड्नु भयो, व्यवस्थालाई नै धरापमा पार्नु भयो' मुख्यमन्त्री थापाले भने ।


Author

थप समाचार
x