कोशी

कोशी प्रदेश सभा बैठक : एमालेसहित विपक्षी दलहरूले बैठक चल्न नदिने

इकागज |
भदौ ६, २०८० बुधबार १३:४५ बजे

फाइल तस्बिर

विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभाका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दुई विधेयक टेबुल गर्ने कार्यसुची तय गरेको हो । 

प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसहित) को नियम ९२ बमोजिम प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्ताव स्वरुप सभामा प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।


तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले आजको बैठक चल्न नदिने तयारी गरेका छन् । 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा प्रदेश सभाका सभाध्यक्ष मन्सुरीले समेत मतदान गरेर बहुमत पुर्याइदिएको भन्दै एमालेले बैठकमा विरोध गर्ने तयारी गरेको एक सांसदले जानकारी दिए । एमाले र राप्रपाले बैठक सुरु हुने बितिक्कै उठेर विरोध गर्ने तयारी गरेको उनले बताए । 

त्यसको तयारीका लागि एमाले र राप्रपाबिच बैठक जारी छ । आज दिउँसो १ बजेको लागि बोलाइएको प्रदेश सभाको बैठक सुरु हुन सकेको छैन ।

एमालेले बैठकमा निरन्तर विरोध गरे सभाध्यक्षले जबरजस्ती बैठक सञ्चालन गर्न नसक्ने भन्दै सरकारले समेत प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्ने रणनीतिमा रहेको सत्ता पक्षका सांसदको भनाई छ ।


Author

थप समाचार
x